मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।
राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठ उक्त प्रतियोगिताको प्रायोजन गरेका हुन्। यस वर्ष भलिबलबाट सुरु गरिएको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिने उहाँले बताए।
कोरोना महामारी समयमा, मेलम्ची बाढीमा राहत तथा उद्धारका साथै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट ‘मेलम्ची बन्दै छ’ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट पर्यटक प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले भलिबल आयोजना गर्न लागिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया