बनेपा । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आइरहेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आइरहेका छन् ।
रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उनले१५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।
‘वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उनले भने । कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुनु भएन । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उनले भने । अहिले उनले खेतमा चार सयको हाराहारीमा किबीको बोट छ ।
कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डेले बताए । “वार्षिक १५ लाखदेखि २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उनले थपे, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौंबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ, त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भने ।
उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीखेती गर्न उनले हालसम्म ८० लाखसम्म लगानी गरेका छन् ।
किबीको एउटा बिरुवाको मूल्य तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भने । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ ।
जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया