‘समर लभ’ को ट्रेलर रिलिज, कार्यक्रममा कसले के भने? (भिडियो)

काठमाडौं । युवापुस्तामा लोकप्रिय लेखक सुबिन भट्टराईको उपन्यासको थेममा निर्माण भएको फिल्म ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा निर्देशक मुस्कान ढकाल, नायिकाद्वय रेवती क्षेत्री र नम्रता सापकोटा, नायक आशिष पिया, पटकथाकार सामीप्यराज तिमिल्सिना लगायतका कलाकार उपस्थित थिए ।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक मुस्कान ढकालले लामो समय लागेपनि फिल्म राम्रो बनेको बताए । उनले भने, ‘कुनै पनि कुरामा कम्प्रमाइज नहोस् भनेर हामीले सोही अनुसार फिल्म बनाएका छौँ, दर्शकले मन पराउनुहुनेछ ।’

यस्तै कार्यक्रममा बोल्दै लेखक सामीप्यराज तिमिल्सिनाले निकै लोकप्रिय उपन्यासलाई फिल्ममा ढाल्न सहज नभए पनि उपन्यासको मर्मलाई नमारी सोहीअनुसार पटकथा तयार पारेको बताए ।

सार्वजनिक ट्रेलरमा आशिष पिया र रेवती क्षेत्री अतीत र सायाको भूमिकामा छन् । यस्तै नम्रता सापकोटा उपन्यासकी अर्की पात्र सुस्मिताको भूमिकामा छिन् ।

कार्यक्रममा बोल्दै फिल्मका नायक आशिष पियाले यो फिल्म आफ्नो डेब्यु फिल्म भएपनि काम गर्न सहज भएको धारणा राखे । उनले टिमअप राम्रो पाएकाले काम गर्न सहज भएको बताए  भने भारतमा बस्दै आएकी नायिका रेवती क्षेत्रीले पनि हिन्दी लबजसहितको नेपाली टोनमा आफूलाई काम गर्न निकै सहज भएको र न्युड दृश्य दिन गाह्रो नलागेको बताइन् ।

भिडियो हेर्नुहोस्ः

माघ २५ गते रिलिज हुने यो फिल्ममा खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी, विनोद अधिकारी, एकराज तामाङ लगायतका कलाकारको लगानी छ भने फिल्ममा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतीक लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

यस्तै गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत, सुविन भट्टराई र सामीप्यराज तिमिल्सिनाका डायलग, मन कृष्ण महर्जनको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

ट्रेलरः
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?