बर्दगोरियाले लागू गर्‍याे सामुदायिक विद्यालयमा पूर्ण निशुल्क शिक्षा

लोकपथ
413
Shares

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको छ । आइतबार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गतका १७ वटै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि माध्यमिक तहसम्म निशुल्क शिक्षा लागू गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले निशुल्क शिक्षा घोषणा गरे तापनि यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुबाट विभिन्न किसिमका विषय सिर्जना गरी शुल्क लिई भर्ना गरिरहेको भनी व्यापक जनगुनासो बढेको जनाउँदै गाउँपालिकाले अब उप्रान्त कुनै किसिमको शुल्क नलिन भनेको छ ।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पूर्ण रुपले निशुल्क शिक्षा लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि स्थानीय तहले गत चैत्र २७ मा आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७९ लागू गर्न विद्यालय तथा सरोकारवाला निकायलाई परिपत्र गरेको थियो ।

स्थानीय शिक्षा ऐन , २०७९ कार्यान्वयन गर्न सबै विद्यालय र सरोकारवाला निकायलाई परिपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए । गाउँपालिका अन्तर्गत ११ वटा आधारभूत र ६ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालयहरुमा यसअघि विद्यालय व्यस्थापन समितिले नियुक्त गरी आन्तरिक (नीजिस्रोत) मा कार्यरत शिक्षकहरुको व्यहोर्दै आएको तलब सेवासुविधामा पालिकाले थप गरी तहगत आधारमा वार्षिक १३ महिनाको निकासा दिँदै आएको थियो ।

गाउँपालिकामा प्राथमिक तहमा ३० जना, निम्न माध्यमिक तहमा १९ जना र माध्यमिक तहमा ९ जना शिक्षक कार्यरत छन् । उनीहरुको प्राथमिक तहमा १६ हजार १ सय, निम्न माध्यमिक तहमा १७ हजार २ सय ५० र माध्यमिक तहमा १९ हजार ५ सय ५० तलब पाउँदै आएका थिए ।

त्यस्तै, विद्यालय तहमा कार्यरत ६ जना मावि लेखापाल, २१ जना विद्यालय सहयोगी र ३९ जना बालविकास सहयोगीलाईसमेत संघीय सरकारले निकासा दिँदै आएको अनुदानमा ९ हजार २ सय, ८ हजार ५० र ५ हजार ७ सय ५० रुपैयाँ थप गरेको थियो । पालिका अन्तर्गका विद्यालयमा कार्यरत कुल १ सय २४ जना शिक्षक तथा कर्मचारीलाई विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान वापत कुल १ करोड ९१ लख ९५ हजार ८ सय रुपैयाँ बजेट खर्च गर्ने गरी निकासा दिने गाउँसभाले गरेको थियो ।

यस्तै, परीक्षा, विद्युत, लेखापरीक्षण तथा प्रशासनिक खर्चतर्फ ९ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तहले सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय पाठ्यक्रम अनुसार स्थानीय पाठ्यपुस्तक लेखन प्रयोजनका लागि पालिकाले विज्ञको सूची (रोष्टर) माग गरेको छ । इतिहास, संस्कृति, भूगोल र सम्भावनासँग परिचित योग्य विज्ञहरुको आवेदनसमेत माग गरेको छ ।

शिक्षा तथा खेलकुदतर्फ ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ को अवधारणालाई सार्थक बनाउन पालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा विषेश जोड दिएको छ । यसअघि नै साक्षर पालिका घोषणा भएको गाउँपालिकाले निरक्षरमुक्त गर्ने, विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै बर्दगोरिया बहुमुखी कलेज सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?