काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।
अहिले उद्योगी व्यवसायीहरुमा असहज परिस्थिती रहे पनि केही नहुने अवस्थामा पुगिनसकेको भन्दै सरकार र नीति क्षेत्र मिलेर अफ्ठ्याराहरु हटाउनुपर्नेमा जोड दिए ।
‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेछ।’ डा. महतले भने ।
त्यस्तै महासंघका अध्यक्ष चन्द्र ढकालप्रति लक्षित गर्दै महासंघको नेतृत्व नै बैंकर्सको हातमा पुगेको बताउँदै अर्थतन्त्र सुधारका लागि काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’
सबै क्षेत्रको सक्रियता नदेखिएका कारण सरकारले भनेजसरी काम गर्न सकिनरहेको उनले बताए ।
‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ’, डा महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’
आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको अर्थमन्त्री महतले बताए ।
बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्नेमा जोड दिए।
हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिनका लागि अहिलेको परिवेश महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।
यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया