आठौँ राष्ट्रिय खेलकूदमा ओखलढुङ्गाबाट १ सय २९ खेलाडी सहभागी हुने

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाबाट आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १ सय २९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् ।

जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा आठ, ह्याण्डबलमा १२, टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, फुलकन्टयाक्ट कराँतेमा दुई तथा उसु र पौडीमा एक÷एक खेलाडी सहभागी हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिए ।

जिल्लाबाट प्रशिक्षक र अफिसियल गरी २३ जना सहभागी हुनेछन् । 

त्यस्तै ओखलढुङ्गा जिल्लामा हालसम्म कुनै पनि खेलका प्रशिक्षक छैनन् । अन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ ।

कराँते, तेक्वान्दो, फुटबल, भलिबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?