एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उन अघोषित भ्रमणका क्रममा बेइजिङ आइपुगेका छन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको आमन्त्रणमा चीन गएका हुन् ।
उत्तर कोरियाली सरकारी मिडियाका अनुसार श्रीमती रि सोल–जुसँग चीन पुगेका किम जनवरी १० सम्म त्यहाँ बस्नेछन् ।
यो भ्रमण किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ताको प्रक्रिया अघि बढिरहेको रिपोर्टहरु आइरहदाँ भएको छ । दुईबीच अघिल्लो जुनमा भेट भएको थियो । उक्त भेट कुनै अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली नेतासँगको पहिलो भेट थियो ।
सोमबार दक्षिण कोरियाली समाचारपत्र योनहापले एक उत्तर कोरियाली रेल उच्च सुरक्षाका साथ सिमाना पार गरेको रिपोर्ट दिएपछि रेलमा किम हुन सक्ने अनुमान लगाइदैं थियो ।
सीमा सहर दानदोङको रेल स्टेसन वरपर दजर्नौं सुरक्षा गाडि तथा अधिकारीहरुले बाटो रोकेका थिए ।
दानदोङका होटलको सिमानातर्फ फर्केका कोठामा बसेका पाहुनाहरुलाई पनि तिनका कोठामा प्रवेश गर्न रोकिएको थियो ।
चीन र उत्तर कोरियाका मिडियाहरुले मंगलबार विहान किमको भ्रमणहरुलाई पुष्टि गरे । मंगलबार विहाननै किमको हरियो र पहेँलो रेल बेइजिङको एक स्टेसनमा देखिएको थियो ।
अघिल्लो पटकको वेइजिङ भ्रमणको बेला पनि प्रयोग गरिएको उक्त रेल उनका पिता किम जोङ इलले सन् २०११ मा चीन र रुसको भ्रमणको समयमा प्रयोग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया