पोखरा रङ्गशाला निर्माणको जमीन नापजाँच शुरु, १३ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य

पोखरा । पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच ‘सर्भे’को काम शुरु भएको छ । 

पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा ‘एम.ए.जिएसआई’जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् । 

निर्माण कम्पनीले मंगलवारबाट जमीन नापजाँच ‘सर्भे’को काम शुरु गरेको एमए-जिएसआई कन्ट्रक्सन जेभीका परियोजना म्यानेजर हरिबाबु न्यौपानले बताए ।  गतवर्ष मङ्सिरमा नयाँ फुटबल स्टेडियम बनाउनको लागि पोखरा रङ्गशालाभित्रको पुरानो प्यारापिट भत्काएको १३ महिनापछि नयाँ फुटबल स्टेडियमको काम शुरु भएको हो । 

नेपाली र भारतीय गरी छ जना प्राविधिकको टोलीले स्थलगत अध्ययनको काम शुरु गरेको न्यौपानेले बताए । ‘स्टेडियम डिजाइनको पहिलो चरणको काम सर्भे आजबाट शुरु भयो । यसलाई हामी एक साताभित्र पूरा गर्दछौँ’, न्यौपानेले भने। 

एक अर्ब २८ करोड २० लाख लागतमा छ महिनाभित्रमा निर्माण सम्पन्न हुने स्टेडियममा साधारण १६ हजार ५ सय तथा १ सय २५ विशिष्ट र २५ क्षमताको अति विशिष्ट प्याराफिट निर्माण गरिने भएको छ ।

यसका साथै फुटबल मैदान, चेञ्जिङ रुम, एथलेटिक्स ट्रयाक तथा मिडिया सेन्टरलगायतका पूर्वाधार निर्माण गरिने राष्ट्रिय खेलकूद परिषद्का निर्माण शाखा प्रमुख अरुण उपाध्यायले बताए । 

स्टेडियम बनाउनको लागि अर्थ मन्त्रालयले डेढ महीनाअघि मात्रै बजेट सुनिश्चितता गरेपछि बोलपत्र आह्वान प्रक्रिया टङ्गिएर सम्झौता भएको उपाध्यायको भनाइ छ । स्टेडियम फुटबलको सर्वोच्च निकाय फिफाले निर्दिष्ट गरेबमोजिम हुने बताइन्छ ।

फुटबल मैदान फिफाको मापदण्ड अनुसार १ सय ५ मिटर लम्बाइ र ६८ मिटरको चौडाइको हुने उल्लेख छ । 

सर्भे सम्पन्न गरेर तीन हप्ताभित्रमा डिजाइन तयार गरी अर्को महिनाबाट स्टेडियम निर्माणको काम शुरु गर्ने ग्रेट स्र्पोट्सका प्रमुख परदेशीले बताए । हिजो साँझमात्र मात्र हाम्रो प्राविधिक टिम यहाँ आइपुग्यो । आजबाटै जमीनको सर्भे शुरु गरेका छौँ । 

एक्काइस दिनभित्र डिजाइन पूरा गरेर निर्माणको काम शुरु गछौं उनले भने । कम्पनीले फुटबल रङ्गशालाको प्रारम्भिक डिजाइन तयार गरिसकेको र अर्को महीनाबाट काम शुरु गरिने न्यौपाने बताए । 

प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिने र यहाँ जोड्ने काम मात्र हुने बताए । भएको रङ्गशालाको प्यारापिट पनि भत्काइएको र लामो समयसम्म नयाँ स्टेडियम बन्ने तयारी नहुँदा यहाँका खेलकूदप्रेमीले चिन्ता व्यक्त गर्दै आएका थिए । 

राष्ट्रिय खेलकूद परिषद्ले १३औँ दक्षिण एशियाली खेलकूद ‘साग’को महिला फुटबल पोखरामा खेलाउने बताए पनि स्टेडियमको अभावमा सो खेल यहाँ हुने÷नहुनेमा अन्योल रहेकामा अब भने अन्योल हटेको बताइन्छ । 

पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ढिलै भए पनि फुटबल स्टेडियम बनाउने सम्झौता हुनु सकारात्मक भएको र समयमै निर्माण पूरा गर्न हरतरहले सहयोग गर्ने बताए । 

वि.सं. २०३९ मा निर्माण गरिएको फुटबल स्टेडियमको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । गतवर्ष नयाँ बनाउन सम्पूर्ण पुरानो संरचना भत्काइए पनि नयाँ नबन्दा खेलकूद गतिविधिमा असर पुगेको खेलकर्मीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?