संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खदै डा. केसी, अपरान्हसम्मका लागि अनशन स्थगित

काठमाडौं । १६ औं चरणको सत्याग्रह बस्ने घोषणा गरेका डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खने भएका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न संसदको शिक्षा समितिको बैठक आज बिहान १०ः१५ बजेका लागि बोलाइएको छ ।

समिति सदस्य समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले डा. केसीको माग शतप्रतिशत सम्बोधन भएकाले सरकारविरुद्ध सत्याग्रह शुरु गर्नुको औचित्य नभएको बताएका छन् । 

नेता अधिकारीले पत्रकारसँग कुरा गर्दै भने, ‘डा. गोविन्द केसी जीको माग शतप्रतिशत सम्बोधन भएकाले सरकारविरुद्ध सत्याग्रह शुरु गर्नुको औचित्य छैन ।’

तर, डा. केसी बुधवार बिहानैबाट इलाममा अनशन बस्ने तयारीमा रहेका केसीले बिहान समितिको बैठक बस्ने भएपछि अनशनको समय अपरान्हसम्मका लागि स्थगित गरेका छन् । 

आफ्ना माग पूरा गर्न हिजोसम्मको अल्टिमेटम दिएका केसी १६ औँ चरणको सत्याग्रहको तयारीका लागि भन्दै हिजै (मंगलवार) इलाम पुगेका थिए । 

१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग सम्बोधन हुनु पर्ने डा. केसीको माग छ । सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना शुरु नभएको लगायतका मागमा सरकार गम्भीर नभएको भन्दै डा. केसी १६ औं सत्याग्रहको तयारीमा लागेका हुन् । 

त्यस्तै डा. केसीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग पनि अघि सारेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?