२१ वटा वाणिज्य बैंकहरुले कमाए झण्डै आधा खर्ब खुद मुनाफा : कुनको कति ?

लोकपथ
70
Shares

काठमाडौं । वाणिज्य बैंकहरुको खुद मुनाफा सामान्यरुपमा बढेको छ ।

सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैकहरुको नाफा सामान्य रुपमा मात्र बढेको देखिएको छ ।

वित्तीय विवरण अनुसार २१ वटा बैंकहरुले चालु आवको तेस्रो त्रैमासमा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा बैकहरुले गत आवको सोही अवधिमा कमाएको नाफा भन्दा ११ प्रतिशतले मात्र बढी हो ।

गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिले कमाएको छ भने ग्लोवल आईएमई र एनआईसी एशिया बैंक क्रमश दोस्रो र तेस्रो स्थानमा परेका छन् । सो अनुसार नबिलले पाँच अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोबलले चार अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ भने एनआईसी एशियाले चार अर्ब एक करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले तीन अर्ब ७२ करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएका थिए ।

चालु आवको तेस्रो त्रैमासमा राष्ट्रिय बाँणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाउँदा एनएमबी, स्टान्र्डड चार्टड, प्राईभ र एभरेष्टले दुई अर्ब रुपैंयाँको हाराहारीमा खुद मुनाफा कमाएका छन् । यि बाहेकका बाँकी प्रभु, कुमारी, नेपाल एसबिआई लगायतका बैंकहरुले भने चालु आवको तेस्रो त्रैमासमा एक देखि दुई अर्बको बिचमा खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा पनि यि बैकहरुको यस्तो नाफा सोही परिमाणमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?