हिजोसम्म देशमा एक प्रकारको सरगर्मी थियो । सामाजिक सञ्जालमा त्यस्तै किसिमको बहस र अड्कलबाजी भइरहेका थिए । चितवन, तनहुँ र बारामा उपचुनाव हुँदै गरे पनि त्यसको तरङ्ग देशभित्र मात्रै होइन बाहिर पनि त्यतिकै थियो । आज त्यो सरगर्मी सकिएको छ र मानिसहरू प्रत्येक घण्टाको निर्वाचन बुलेटिनमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।
तनहुँमा यो पंक्ति लेख्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले झन्डै पाँच हजारको मत अन्तरले अग्रता लिइरहेका छन् । उनलाई नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन् ।
पूर्व प्रहरी प्रमुखको स्थिति निकै तल देखिएको छ । चितवनमा पनि रवि लामिछानेले पुनः जित्ने अनुमान र आँकडा सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा त्यसको सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । आखिर गत चुनावभन्दा तीन महिनाअघि गठन भएको पार्टीले यतिधेरै सफलता पाउनुको रहस्य के हो त ? यसको यथार्थ पुराना भनिएका राजनीतिक पार्टीका नेताले बुझेका छन् कि छैनन् थाहा छैन तर आम मतदाताले यो कुरालाई राम्ररी बुझैको देखिँदै छ ।
२०४६ सालको परिवर्तनसँगै देशमा राजनीतिको उन्मुक्त वातावरण विकास भयो । एक प्रकारले भन्ने हो भने समाज राजनीतिक पार्टीमा ध्रवीकरण भयो । गाउँगाउँका मानिसहरू पार्टीमा विभाजित भए । एमालेको मेलामा काङ्ग्रेस नजाने र काङ्ग्रेसको मेलामा एमाले नजाने परिस्थितिसमेत विकास भयो । राप्रपालाई त सबैले उपेक्षा गर्ने नै भए । किनभने उसको टाउकोमा पञ्चायती मण्डलेको ताज पहि¥याइएको थियो । यस्तो भाष्य निर्माण गरिएको थियो कि यो समाज विकास हुन नसक्नुका पछि यिनै मण्डले हुन् र यिनीहरूकै कारण नेपालीले दुःख पाइरहेका छन् । वडावडासम्म राजनीतिक पार्टीको जग निकै मजबुत भएको थियो । मानिसहरू राजनीति पार्टीबाट अलग्गिएर बस्नै सकेका थिएनन् । यो चौतिस वर्षका अवधिमा राजनीतिक पार्टीको त्यत्रो मजबुत जग किन यसरी धराशायी हुँदैछ भनेर कुनै राजनीतिक नेताले मनन गरेको देखिँदैन । बरु अहिले पनि राजनीतिक क्षेत्रमा रहेका चलनचल्तीका कर्मकाण्डी शब्दको भूत देखाएर पार्टीका शीर्षस्थ नेताहरू आफूलाई सुरक्षित राख्न सकिन्छ भनेर प्रयास गरिरहेका देखिन्छन् ।
यो चौतिस वर्षलाई फर्किएर हेर्दा लोकतन्त्रका नाममा व्यक्तिलाई बलियो बनाइयो कि संस्थालाई ? विधि र पद्धतिको विकास गरियो कि जिम्मली प्रथाको ? यसैबाट कमजोरीहरू खोतल्न थालियो भने आजको स्थिति कसरी निर्माण भयो भनेर सही निष्कर्ष निकाल्न सकिन्छ ।
लोकतन्त्रको असाध्यै बलियो आधार हो– विधि र पद्धति । सार्वजनिक संस्थाहरू र राज्यका निकायहरू स्वचालित ढङ्गले चल्नुपर्ने हो । राजनीतिले स्वचालित ढङ्गले चल्न नसकेका संस्थाहरू किन चल्न सकेका छैनन् भनेर खोजी गर्ने र त्यसलाई स्वचालित ढङ्गले चल्न सक्ने बनाउने हो । कहाँ कहाँ कानुनी अड्चन छ कहाँ कहाँ अनियमितता छ त्यो हेर्ने हो र त्यसमा देखिएका समस्या समाधान गर्ने हो । हाम्रो राजनीतिले विगत चौतिस वर्षमा त्यो गर्न सक्यो त ? अझ २०६२ सालपछि बेथितीहरू नयाँ आवरणमा भित्रिए भागबन्डाको विकराल रूप लिएर ।
त्यसमा राजनीति सुधार गर्ने भनेर दश वर्षसम्म सशस्त्र संघर्ष गरेर आएको पार्टी पनि सामेल भयो । द्वन्द्वले थिल्थिल्याएको समाजको घाउमा भागबन्डा प्रथाले नुन अमिलो लगाउने काम ग¥यो । भागबन्डा प्रथाले विश्वविद्यालय ध्वस्त भयो । अदालतप्रतिको आम विश्वासमा बादल लाग्यो । सार्वजनिक संस्थाहरू लङ्गडा भए । कुटनीति क्षेत्रका पदहरू कि त आफन्तको पोल्टामा परे कि त बिके । बजारको अनुगमन गर्ने निकाय पङ्गु भएर बसिरह्यो । राजनीतिकभन्दा बढी आर्थिक स्वार्थका लागि कर्मचारीहरूको सरुवा गर्ने प्रथाले सरकारी सेवामा बेथिति बढ्यो । कमिसनको चक्रमा निर्माणसेवा फस्यो । बेथितिको छानबिन गर्ने अख्तियारले राम्रो काम ग¥यो कि गरेन भनेर राजनीतिले हेर्न पर्ने हो तर अख्तियारलाई नै राजनीतिको सोफामुनि राख्ने काम भयो । अझ डरलाग्दो कुरा त पहिले अपराध गर्ने अनि त्यसलाई राजनीतिकरण गरेर उन्मुक्त हुने जुन प्रवृत्ति राजनीतिमा देखिएको छ त्यसले राजनीतिलाई लोककल्याणभन्दा पनि अपराधीकरण गर्दै लगेको छ । यस प्रकारका समस्याको जिम्मेवार को हो ? त्यसको जसअपजस अहिलेका नेताले लिनुपर्छ कि पर्दैन ?
विगत चौतिस वर्षको अवधिमा भएका विकासका केही सन्दर्भहरू यहाँ जोड्न आवश्यक छ । पञ्चायतकालको तिस वर्षमा भन्दा प्रजातन्त्रको चौतिस वर्षका अवधिमा सडक सञ्जाल सयौँ गुना बढ्यो । अहिले गाउँगाउँ सडक सञ्जालले जोडिएको छ । तर त्यो सडकमा हिँड्ने मानिस भने प्रत्येक वर्ष घट्दै गइरहेका छन् । मानिस गाउँबाट सहर र सहरबाट विदेश हिँडिरहेको छ । तिस वर्षअघि खनिएका बाटा पनि आज उस्तै धुलाम्मे र हिलाम्मे छ ।
अब ती बाटाहरू गाउँमा रहेका टाठाबाठाको लैनो गाई बनेको छ । विकासको अर्को पाटो सूचना र प्रविधि हो । यो व्यापारको नयाँ रूप हो । यसमा हाम्रो निर्यातको हिस्सा नभएर आयात मात्रै छ । विकासको अर्को पाटो शिक्षा हो जो प्रविधि र सिपमुखी नभएर ज्ञानमुखी मात्रै छ । ज्ञानमुखी शिक्षा बेरोजगार उत्पादन गर्ने स्थल हो । आज हामी तिनै ज्ञानमुखी श्रमशक्ति निर्यात गरेर तयारी वस्तु आयात गरिरहेका छौँ । अत्यधिक ठुलो मात्रामा रहेको सिपहीन जनशक्ति खाडीमुलुकमा गएका छन् भने प्रविधि र सिप सिकेका राम्रा जनशक्ति उचित अवसरको खोजीमा अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देश गइरहेका छन् जो यही अवस्थामा नेपाल फर्किएर आउने सम्भावना निकै कम छ । ती देशको भिसा लाग्दा आफ्नो भाग्य चम्क्यो भन्ने मानिसहरू दिनदिनै बढिरहेका छन् । आखिर आफ्नो देश सदाका लागि छाडेर हिँड्दा ‘भाग्य चम्क्यो’ भन्नुपर्ने परिस्थिति कसले निर्माण ग¥यो ? किन देशमा बस्न पाउँदा चाहिँ भाग्य खोटो भएको हो ? यसको दोषी को हो ? चौतिस वर्षसम्म शासन गरेका ठुला भनिएका राजनीतिक पार्टीका नेताले कहिल्यै आफूलाई प्रश्न गर्नु पर्दैन ?
मानिसहरू गाउँमा बसेर उत्पादन गर्न भन्दा सहरमा बसेर दलाली गर्न राम्रो मानिरहेका छन् । गाउँमा चार किलोमा बेचेको बन्दागोभी सहरमा पच्चिस रूपैयाँमा किनेर खानुपर्छ । एक्काइस रूपैयाँ बिचको दलालीले खान्छ । खेती गर्ने बेला भयो मल छैन । थोरै मल पनि ब्ल्याकमा किन्नुपर्छ । त्यसमाथि पछिल्लो समय मलका नाममा किसानहरू सहकारीको चङ्गुलमा फसिरहेका छन् । पाँच दश किलो मल लिनलाई सहकारीमा पैसा राख्नुपर्छ या सदस्य बन्नुपर्छ । सहकारीबारेको टिप्पणी यहाँ गर्नु आवश्यक छैन । सहकारी मिटरब्याजी साहुजस्तै भएका छन् ।
स्थानीय बिउहरू सबै मासिएका छन् । हाइब्रिड बिउका नाममा बिउ पनि आयात भइरहेको छ । त्यो पनि सिजनका बेला ब्लाकमा किन्नुपर्छ । सबै किसिमका जटिलता खेपेर उत्पादन गरेको कृषिवस्तुले अन्तिममा बजार पाउँदैनन् । बजारमा विषैविष भएको तरकारी छ परीक्षण गर्ने साहस कसैसँग छैन । सबैभन्दा उदेक लाग्दो कुरा त राज्यलाई कर तिर्न पनि घुस खुवाउनु पर्छ ।
विगत चौतिस वर्षमा विकास भएको यो बेथिति न विपिको समाजवादले सच्याउन सक्छ न मनमोहनको वृद्धभ्रत्ताले । आजको पुस्ताले विपिलाई चिन्दैन । विपिले के भने भनेर पढ्दैन । फोटोमा देखिने विपि र पृथ्वीनारायण शाह उस्तै हो । पृथ्वीनारायण शाहले बनाएको देश भनेर आजका युवा नेपालमा बसेका छन् र ! एउटा बेरोजगार युवालाई बाबुआमाले पाउने वृद्धभत्ताले के प्रभाव पार्छ ? तर हाम्रो राजनीतिले त्यही विपि र वृद्धभत्ता रटिरह्यो र आजका नेता त्यसैको ब्याज खोजिरहेका छन् ।
राजनीति कुनै बनिबनाउ सिद्धान्त लिएर गरिने होइन । कुनै देशको हिंसाको इतिहास पढेर गरिने पनि होइन । सत्ताका लागि रगत बगेको कलुषित इतिहासले पनि राजनीति चल्दैन । राजनीति चल्छ जनजिविकाको सवालमा । समाजमा भएका बेथितिलाई हटाएर व्यवस्थित समाज निर्माण गर्न राजनीति चाहिने हो । राजनीतिको दर्शन पनि यसैबाट निर्माण हुने हो । जनताको सरोकारभन्दा पर कुनै राजनीतिक दर्शन हुँदैन । अहिले त सत्ताको चरम स्वार्थ र अपराधीकरण बन्दै गएको राजनीतिले आम मानिसमा निराशा र हीनताबोध बढाइरहेको छ । राजनीतिले आम मानिसमा आशा र भरोसा जागृत गराउन सक्नुपर्छ । यही गराउन नसक्दा पुराना भनिएका पार्टी दिनानुदिन कमजोर बन्दै गइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी यति छिटै उदाउनुको रहस्य पनि यही हो ।
विगत चौतिस वर्षमा प्रजातन्त्रका नाममा भएको लुटतन्त्र र घुसतन्त्रको प्रतिक्रिया हो राष्ट्रिय स्वतन्त्र पार्टी । यस्तै अवस्था रहिरह्यो भने अर्को आम चुनावमा ठुला भनिएका पुराना पार्टी एकातिर र नयाँ उदाएको पार्टी एर्कोतिर हुने निश्चित छ । यदि यसलाई रोक्ने हो भने सत्तास्वार्थभन्दा बाहिर निस्किएर व्यक्तिभन्दा संस्था बलियो बनाउन लागे हुन्छ । हरेक संस्थालाई स्वचालित ढङ्गले चल्ने बनाउन थाले हुन्छ । विधि र पद्धतिको थालनी गरे हुन्छ । त्यसै पनि देश निर्देशनले होइन विधि र पद्धतिले चल्नुपर्छ । नियम र कानुनले चल्नुपर्छ । नचल्ने हो भने समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । अवसानको दिन गनेर बसे हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया