कथामा दम भएको फिल्मको प्रतीक्षामा सुरक्षा

काठमाडौं । पछिल्लो समय नायिका सुरक्षा पन्तको व्यस्तता बढेको छ । फिल्म ‘धनपति’ पछि उनी लगातार काम गरेकी छिन् । एकपछि अर्को फिल्ममा देखिएकी पन्तका केही फिल्मले राम्रै चर्चा कमाएका पनि छन् ।

प्रायः मौलिक फिल्ममा अभिनय गर्न रुचाउने सुरक्षा पढाइका हिसाबले इन्जिनियर पनि हुन् । पछिल्लो समय उनी पढाइमा भन्दा बढी अभिनयमै सक्रिय छिन् । फिल्म ‘चंगाचेट’ मार्फत पर्दामा देखिएकी सुरक्षा अब फिल्म ‘गोपी’ मार्फत् फेरि दर्शकमाझ आउँदैछिन् ।

फिल्म ‘गोपी’ कै प्रचारका क्रममा भेटिएकी सुरक्षाले यस्ता अर्गानिक कथामा अरु पनि फिल्म बन्नुपर्ने बताइन् । काठमाडौंमा भेटिएकी सुरक्षाले भनिन्, ‘मौलिक कथामा फिल्म बन्नुपर्छ, कुनै फिल्ममा स्किृप्ट हेरिएला, कुनैमा पैसा पनि हेरिएला, तर कोही निर्माता आएर पैसा छैन भन्नुहुन्छ र फिल्मको कथा पनि राम्रो छ भने म फिल्ममा अभिनय गर्न तयार छु ।’

उनको भनाइअनुसार कम लगानीमा बन्ने फिल्म राम्रो भए कम पारिश्रमिक लिएर पनि फिल्म खेल्न उनी तयार छिन् । नेपालमा फरक खालका विषयमा फिल्म बन्नु भनेको फिल्म क्षेत्रकै विकास हुनु हो ।

चलचित्र ‘गोपी’ को कुरा गर्नुपर्दा यो फिल्मलाई समीक्षक हुँदै फिल्म निर्देशनमा छिरेका निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्मले गाई र मान्छेको आत्मीयतालाई देखाएको फिल्म निर्माण टिमले दाबी गरेको छ ।

यद्यपि यो फिल्मको स्किृप्ट सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने कार्यकारी निर्मातामा श्रीधर पौडेल छन् । यस्तै फिल्ममा सुरक्षाका अतिरिक्त विपिन कार्की, वर्षा राउत, अकिंत खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रले आउँदो माघ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?