इस्लाम त्यागेर साउदी छोडेकी युवतीले पाउने भइन् क्यानडामा शरण

एजेन्सी । मुक्तिको चाहनामा आफ्नो देश र परिवार छोडेर निस्किएकी १८ वर्षकी साउदी अरेबियाकी युवती राहफ मुहमुद अल–क्वुनुनले क्यानडामा शरण पाउने पक्का भएको छ ।

यसअघि उनलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) ले औपचारिक रुपमा शरणार्थीको पहिचान दिएको थियो । क्यानडा राहफलाई आश्रय दिन राजी भएको हो ।

इस्लाम त्यागेका कारण आफूलाई आफन्तहरूले नै मारिदिने डर भएको रहफले बताएकी थिइन् । भागेर ब्याङ्कक विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहफका निम्ति विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।

रहफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर)ले पेश गरेको शरणार्थीको आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् ।

रहफले ब्याङ्कक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरि लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन् । त्यसले अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गरायो ।

साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिइनसक्ने अपराध मानिन्छ । उनको स्थिति र त्यसले खिचेको ध्यानका माझ राष्ट्रसंघीय निकायले उनलाई एक वैध शरणार्थीको मान्यता दिएको थियो ।

राहफलाई पुनर्स्थापित गर्नका लागि पहल गरेकोमा युएनएचसिआरले क्यानडाको स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?