डा. केसीको स्वास्थ्यमा समस्या, सावधानी नअपनाए निमोनियाको संक्रमण

इलाम । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । 

डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् । 

शुक्रवारदेखि डा. केसीको छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकोले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्साहरुले सुझाव दिएका छन् । 

१५औँ अनसनका क्रममा सरकार र डा. केसीबीच गत साउन १० गते भएको सहमति विपरित गत बुधवार संसदीय शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित अर्को चरणको १६ औँ अनसन शुरु गरेका हुन् । 

त्यस्तै डा. केसीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना शुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग डा. केसी छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?