सलाहको निर्णायक गोलमा लिभरपुलको जीत, चेल्सीद्वारा न्युक्यासल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत उपाधि होडमा रहेको लिभरपुलले कठिन जीत हात पारेको छ । 

शनिवार राति सम्पन्न भएको २२ औँ चरणको खेलमा लिभरपुलले ब्राइटटनलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

लिभरपुलका लागि मोहम्मद सलाहले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ५० औँ मिनेटमा पेनाल्टीमार्फत एक मात्र गोल गरेका थिए । निर्धारित समयसम्म ब्राइटनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्यो ।

जितपछि लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । २२ खेलबाट ५७ अंक बनाएको लिभरपुल लिगको शीर्ष स्थानमा यथावत छ । ५० अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको चेल्सीले रेलिगेसनमा रहेको न्युक्यासललाई २-१ गोल अन्तरले पराजित ग-यो ।

चेल्सीको जीतमा खेलको नवौं मिनेटमा पेड्रोले तथा ५७ औँ मिनेटमा विलियनले समान एक-एक गोल गरे । न्युक्यासलका लागि खेलको ४० औँ मिनेटमा क्लार्कले एक मात्र गोल फर्काएका थिए । जीतपछि चेल्सीले ४७ अंक बनाएको छ । 

यता शनिवार राति नै भएको अर्को खेलमा लिगको पाँचौ स्थानमा रहेको आर्सनल नवौं स्थानमा रहेको वेस्टह्यामसँग १-० गोल अन्तरले पराजित भएको छ । वेस्टह्यामका लागि डिक्लान रेसले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

जीतसँगै वेस्टह्यामले २२ खेलबाट ३१ अंक बनाएको छ । चेल्सीको ४७ अंक छ । 

शनिवार राति नै भएका अन्य खेलहरुमा साउथह्याम्पटनले लिचेस्टरलाई २-१ गोल अन्तरले, वाटफोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोलले तथा बर्नलेद्वारा फुलह्याम २-१ गोल अन्तरले पराजित भएको छ । यता कार्डिफ र हडर्सफिल्डबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?