काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारवाही गरेको हो ।
सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको महाशाखाले जनाकारी दिएको छ ।
कारवाही हुनेमा १३ हजार ३ सय ३० पुरुष र ९ सय १ महिला चालक रहेका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए ।
“आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भन्ने ।
महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५ सय जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७ सय ५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५सय ८४ पुरुष र १३ हजार २ सय ७२ महिला रहेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया