धवलागिरिमा शैक्षिक उन्नयन कार्यक्रम

लोकपथ
14
Shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शैक्षिक उन्नयन कार्यक्रम  शुरुआत गरेको छ ।

क्वालिटी एजुकेसन नेपाल अस्टेलियाको आर्थिक एवं प्राविधिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन लर्न संस्था र गाउँपालिकाको साझेदारीमा पालिकामा सबैका सबै २८ विद्यालयको १–५ तहमा चालु शैक्षिक सत्रदेखि कार्यक्रम थालिनी गरेको हो ।

सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर बालमैत्री शिक्षण विधि अपनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले जानकारी दिए । शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रदर्शनी गर्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक विषयमा जानकारी गराउन सात दिनसम्म तालिम दिइएको छ ।

कार्यक्रमका लागि धवलागिरि गाउँपालिका र क्वालिटी एजुकेसन नेपाल अस्ट्रेलियाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताए । चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने उपाध्यक्ष रेशम पुन मगरले बताए ।

यो कार्यक्रम लागू भएको विद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र विद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रदर्शनी गर्नेछन् । अन्नपूर्णमा विगत ९ वर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगङ्गा गाउँपालिकामा विसं २०७६ देखि शुुरु भएको थियो । विद्यार्थीको सिकाइ उपलब्धि बढाउन प्रभावकारी देखिएपछि धवलागिरि गाउँपालिकाले पनि कार्यक्रम लागू गरेको हो । वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाइलाई सुधार गर्न कक्षा कोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्यहरु लेखेर झुन्ड्याएका छन् ।

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गरेका छन् । शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको छ । पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीहरुलाई गीत, नृत्य र खेलकुदको माध्यमबाट पढाउने गरिएको छ । विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाउने धवलागिरि गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?