ला लिगा फुटबलका बार्सिलोनाको सहज जीत, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको बार्सिलोनाले सहज जीत हात पारेको छ ।

आइतवार राति सम्पन्न भएको १९ औँ चरणको खेलमा बार्सिलोनाले इबरलाई ३-० गोल अन्तरले पराजित गर्दै सहज जीत निकालेको हो । खेलको शुरु भएको १९ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल ग-यो । खेलको ५३ औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे ।

यो गोलसँगै मेस्सीले ला लिगामा चार सयौं गोल पुरा गरेका छन् । उनले ४ सय ३५ खेलमा चार सय गोल पुरा गरे । ला लिगा फुटबलमा चार सयौं गोल पुरा गर्ने मेस्सी एक्ला खेलाडी समेत बनेका छन् ।

५९ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । निर्धारित समयसम्म इबरले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्यो । जीतपछि बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले १९ खेलबाट ४३ अंक जोडेको छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले लेभान्तेलाई १-० गोल अन्तरले पराजित ग-यो ।

जीतपछि म्याड्रिडले ३८ अंक बनाएको छ । यता एथ्लेटिको बिल्बाओले सेभिल्लालाई २-० गोल अन्तरले तथा रियल म्याड्रिडले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?