पाँचथर पावर कम्पनीद्वारा प्राथमिक शेयर निष्काशन, अन्तिम मिति माघ २९ सम्म

काठमाडौं। पाँचथर पावर कम्पनीले आज ‘सोमवार’देखि ९ लाख ६२ हजार ५ सय बराबरको कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ । 

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्कासन गरेको हो । प्रभावित क्षेत्रका बासिन्दाले आगामी माघ २९ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्ताको लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम, हिलिहाङ्ग र फालेलुङ्गका बासिन्दाको लागि शेयर निष्कासन गरेको बताइएको छ । 

साथै यो कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४ दशमलब ९ मेगावाट क्षमताको आयोजना निर्माण समेत गरेको छ। प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै  हेवा खोलाको जम्मा लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ। आयोजना निर्माणको कुल लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने लगानी फिर्ता अवधिक ९ वर्ष रहेको छ।

गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि नाफामा हुने प्रक्षेपण गरेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलका अनुसार प्रभावित क्षेत्रका बासिन्दाले कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?