काठमाडौं । नेपाल थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बैंकक क्रिकेट मैदानमा सोमवार भएको समूह चरणको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’लाई ६ विकेटले हराउँदै अन्तिम चारको स्थान तय गरेको हो ।
‘युएई’ले दिएको १ सय ६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । नेपालका लागि ओपनर ब्याट्सविमेन सिता रानामगरले ३७ रन जोडिन् । उनलाई काभिसा कुमारीले क्याच आउट गरिन् ।
काजल श्रेष्ठ २५ रन बनाउँदै आउट भइन् । उनलाई काभिसाले रनआउट गरेकी थिइन् । त्यस्तै डोली भट्ट ६ रन बनाएर पेभेलियनमा फर्किन् । उनी एलबिडब्लुमा आउट भएकी थिइन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्मा १३ रन बनाएर पेभेलियनमा फर्किन् ।
यता कप्तान रुबिना क्षेत्रीले १० तथा नेरी थापाले ६ रन जोडिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो । युएईका लागि छाया मुगालले सर्वाधिक ३१ रन जोडिन् ।
त्यस्तै इशा ओजाले २८ रन तथा चमानी सिनेभिरात्नेले नटआउट २३ रन जोडिन् । यता नेपालका लागि सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले समान एक-एक विकेट लिईन् ।
यता सरिता मगरले इश्नी सेनाभीराप्नेलाई तथा काभिसा कुमारीलाई डोली भट्टले रनआउट गरेकी थिइन् ।
जितपछि नेपालले अपराजित रहँदै ६ अंक बनाएको छ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
अब समूहको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ । यो खेल यहि बुधवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया