व्यापारीको गुनासो : भूकम्प गएदेखि तरुल उत्पादनमा कमी

काठमाडौं । हरेक वर्ष पुस मसान्तको दिन असन, इन्द्रचोक, न्यूरोड, भोटाहिटी लगायत राजधानीका व्यापारिक स्थानहरुमा कन्दमूल, चाकु, लड्डु किन्ने मानिसहरुको भीड लाग्ने गर्छ । यस वर्ष पनि बजारमा मानिसहरुको भीड देखिएतापनि अघिल्लो वर्ष जति कन्दमूल बिक्री नभएको असनका अभिषेक उपरकोटी बताउँछन् । ‘यसपालि त अघिल्लो वर्ष भन्दा ठ्याक्कै ५० प्रतिशत नै कम बिक्री भयो’ उनी भन्छन् । 

सामान्यतयः सब्जी व्यापार गरेपनि माघे संक्रान्तिका बेला उनी शखरखण्ड, तरुल आदि कन्दमूलहरु बेच्न राख्छन् । कन्दमूल धादिङबाट ल्याउने उनले सुनाए ।

बजारमा चहलपहल दखिएपनि बिक्री कम भइरहेको उनले बताए । ‘उत्पादन पनि पहिले भन्दा कम भएर होला बिक्री पनि कमै भइरहेको छ’, कारण प्रष्ट्याउँदै उनी थप्छन्, ‘भूकम्प गएको सालदेखि हो यस्तो भएको ।’ उनका अनुसार भूकम्पका कारण कन्दमूलहरु कम उत्पादन भइरहेका छन् ।

व्यापारीहरुको संख्या बढेर पनि आफ्नो बिक्री कम भएको हुनसक्छ भन्ने उनको अनुमान छ । 

माघे संक्रान्तिश्लाई नेपालीहरुले ठूलो चाडको रुपमा मनाउदै आएका छन् । घिउ, चाकु, तिलको लड्डु, तरुल, कन्दमूल आदि खाएर माघे संक्रान्तिलाई भव्य तरिकाले मनाइन्छ । 

‘मकर नुहाउने’ भन्दै यसदिन नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गरिन्छ । मधेसी समुदायका मानिसहरुले पनि यस दिनलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा धुमधामले मनाउँछन् । ‘पुसको पाक्या, माघको खाक्या’ भन्ने भनाइ अन्तर्गत यो पर्वमा पुस मसान्तमा पकाइएको खाना माघको पहिलो दिन खाने चलन छ ।

यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने धार्मिक विश्वास छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?