बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

लोकपथ
21
Shares

सर्लाही । जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला शुरु गरेका छन् ।

तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ शुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

उनका अनुसार सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित रहेर शुरु गरिएको कार्यशालामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा त्यसको प्रयोगबारे शिक्षण प्रशिक्षण दिइने छ । कार्यशालापछि शिक्षकहरूले किताबमा मात्रै आधारित नभई खेलाएर, नचाएर र हँसाएर सिकाउन सक्ने विश्वास लिइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । अब शिक्षकहरूले किताब घोकाएर मात्रै सिकाउन पर्दैन, खेलाएर, नचाएर, हँसाएर र विभिन्न शैक्षिक सामग्री देखाएर पनि सिकाउन सक्षम हुन्छन्, उनले भने ।

“कार्यशालाको पहिलो दिन शिक्षकलाई कसरी खेल विधिबाट बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भनेर सिकाइने छ । जहाँ शिक्षकहरूले आफैँले खेलेर अनि प्रयोग गरेर महसुस गर्न सक्नेछन् । दोस्रो दिनदेखि विभिन्न विषयलाई भिन्न÷भिन्न शैक्षिक सामग्रीको प्रयोगबाट कसरी सिकाउन सकिन्छ र त्यस्ता शैक्षिक सामग्रीको निर्माणबारे पनि सिकाइने छ । कार्यशालाको पाँचौँ दिन भने शिक्षकहरूले आफूले निर्माण गरेका सामग्रीको प्रदर्शनी तथा सिकाइमा प्रयोगबारे प्रस्तुति दिनेछन्”, शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

“शिक्षकले बोल्ने अनि विद्यार्थीले सुन्ने मात्र गर्दा सिकाइ हुन नसक्ने कार्यशालाका सहजकर्ता अर्जुन भट्टले बताए । उनका अनुसार अब बोल्ने होइन, गरेर सिक्ने हो ।” बालबालिकालाई हामी शिक्षकले सिकाउनेभन्दा पनि उनीहरू आफैँले सिक्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण निर्माणमात्रै गरिदिनुपर्ने कार्यशालाका सहजकर्ता भट्टले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिक्न नसक्नु, रमाउन नसक्नु, र निरन्तर अनुत्तीर्ण हुनुमा शिक्षण सिकाइ गतिविधि तथा शिक्षकहरूको कार्यक्षमता पनि उत्तिकै जिम्मेवार रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए । उनका अनुसार शिक्षकलाई शिक्षण सिकाइमा केन्द्रित गराउँदै सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित र रमाइलो बनाउन कार्यशाला महत्वपूर्ण हुने छ ।

आधारभूत तहका विद्यालयलाई आक्रमकरूपमा सुधारको अभियान सञ्चालन गरिरहेको नगरपालिकाले पहिलो चरणमा बालबालिका रमाएर सिक्ने वातावरण निर्माणमा जुटेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए । उनका अनुसार यो कार्यशालाले शिक्षकलाई नयाँ जोश, जाँगर र ज्ञानका साथ काम गर्ने शक्ति प्रदान गर्ने छ ।

शिक्षकको पेसागत विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने हो भने रूपान्तरण शिक्षकबाटै सम्भव हुने बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले बताए । उनका अनुसार कोही पनि विद्यार्थी आफैँमा कमजोर हुँदैनन्, हरेक बालबालिका सिक्न चाहन्छन् र त्यसका लागि हरेक विद्यार्थीलाई सिकाइ गतिविधिमा सहभागी हुनसक्ने उपयुक्त वातावरण आवश्यक पर्दछ ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालय रहेका र ती सबैको शैक्षिक गतिविधि सुधारका लागि नगरपालिका तल्लीन भएर लागेको नगरप्रमुख भरतकुमार थापाले बताए । उनले नगरभित्रका शिक्षकले कार्यशालामा सिकेको सीप कक्षाकोठासम्म पुग्नुपर्नेमा जोड दिएका छन् ।

उक्त नगरपालिकाले यसअघि प्रधानाध्यापकका लागि तीनदिने नेतृत्व विकास कार्यशाला, सबै शिक्षकका लागि १० दिने आधारभूत आइसिटी तालिम, माध्यमिक तहका सबै शिक्षकका लागि दुईदिने स्तरीकृत प्रश्न निर्माण कार्यशाला आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?