ओझेलमा परेको महिला क्रिकेट टोली थाइल्याण्डमा जुर्मुराउँदै, खै सरकारको लगानी ?

काठमाडौं । महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड प्रस्थान गरेको नेपाली टोलीले अहिलेसम्म अपराजित छ । 

आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपाली टिमले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालमा हुँदा फुर्सदिला देखिएको महिला टिमका खेलाडीहरुले मुडे बल र आफ्नै बलबुतोमा टिमलाई अन्तिम चारसम्म पु-याइसकेका छन् ।

त्यतिमात्र हैन यी महिला खेलाडीहरुले पाएको अवसरलाई सहि सदुपयोग पनि गरेका छन् । नेपालमा महिला क्रिकेट टिमले खासै प्रतियोगिता नै खेल्दैनन् । 

नेपाली टिमकी सदस्य सरिता मगरले यसअघि नै महिला क्रिकेटलाई लक्षित गर्दै कुनै प्रतियोगिता आयोजना नभएको बताएकी थिइन् । ‘नेपालमा कुनै प्रतियोगिता नै आयोजना हुँदैन, कसरी खेलको क्षमता बढाउने ?’, यो क्रिकेटर सरिताले दिएको अभिव्यक्ति हो । 

नेपाली टिमले घरेलु मैदानमा दुई वर्ष यता कुनै प्रतियोगिता नै खेलेको छैन । खेलाडीहरु प्रायः विभागीय टिममा आवद्ध छन् ।  प्रहरी जवान, सिपाही र एपीएफमा सामान्य जवानको पदमा आवद्ध भएर उनीहरुले आफ्नो गुजारा चलाई रहेका छन् ।

सन् २००७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । डेब्यु प्रतियोगितामै नेपाल उपविजेता बनेको थियो । नेपालले एशियाली क्रिकेट परिषद् ‘एसीसी’ले आयोजना गरेको यू-१९ को उपाधिमा भने ह्याट्रिक नै गरेको थियो ।

अन्तर्राष्ट्रिय पिजमा नेपाललाई एकपछि अर्को सफलता दिलाएको महिला क्रिकेट कहिल्यै राज्यको प्राथमिकतामा परेन । कति क्रिकेट खेलाडी पलायन भए, कतिले विकल्प पनि रोजिसकेका छन्।

प्रतियोगिताको उपाधि जितेवापत दिइने पुरस्कारबाहेक उनीहरुले सरकारबाट कुनै सेवा सुविधा पाउदैनन् । बन्द प्रशिक्षणका बेला केही रकम उनीहरुलाई सरकारले उपलब्ध गरेपनि त्यो उनीहरुको लागि प्रयाप्त रकम भने पक्कै होइन् ।

नेपाल क्रिकेट संघ ‘क्यान’ भएको बेला धेरै महिला खेलाडीलाई लक्षित गर्दै केही मात्रामा भएपनि घरेलु प्रतियोगिताको आयोजना हुन्थ्यो । तर, त्यो अहिले एकादेशको काहानी जस्तै बनेको छ । हाल नेपालमा न क्रिकेट संघ छ, न त राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता नै आयोजना हुन्छ ?

तर, पनि विविध समस्याका बाबजुत पनि महिला क्रिकेट खेलाडीहरुले थाइल्याण्डका गरेको प्रर्दशन प्रशंसायोग्य छ ।  नेपालले आफ्नो समूहमा भएको तीनै खेलमा स्पष्ट जीत निकाल्दै आफ्नो बहादुरीता देखाइसकेका छन् ।

नेपालले समूहको पहिलो खेलमा चीनमाथि शानदार १० विकेटको जीत दर्ता गरेको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले तथा सयुक्त अरब इमिरेट्स ‘युएई’लाई ६ विकेटले नै हराएको थियो । कुनै समय महिला क्रिकेटमा नेपाललाई एशियाको बलियो टिमको रुपमा लिइन्थो ।

त्यतिबेला नेपालले थाइल्याण्ड, भारत, बंगलादेश र श्रीलंकालाई सहजै पराजित गथ्यो । तर, अहिले ती टिमले नेपाललाई कडा टक्कर दिन थालेको छ । 

अन्तिम खेलमा थाइल्याण्डसँग भिड्ने 

नेपालले भोली ‘बुधवार’ आफ्नो समूहको अन्तिम खेलमा उपाधि होडमा रहेको थाइल्याण्डको सामना गर्दैछ । 

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हुने समूह चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले थाइल्याण्डलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

थाइल्याण्ड भने प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि दुई खेल खेलेको थाइल्याण्ड दुई खेलमा पराजय भोग्दै अङ्कविहीन छ भने प्रतियोगिताबाट समेत बाहिरिसकेको छ । 

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र युएई यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । 

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएइले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालीकामा युएई शीर्षस्थानमा छ । त्यस्तै नेपाल दोस्रो स्थानमा छ । यदि थाइल्याण्डलाई पराजित गरेमा नेपाल समूहको विजेता बन्नेछ ।    

रुविना क्षेत्रीको कप्तानीको नेपाली टोलीमा सीता रानामगर ‘उपकप्तान’, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

विभिन्न १० टोलीको सहभगिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स ‘युएई’, मलेशिया र थाइल्याण्डको ‘ए’ टोली छन् । समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?