यतिखेर देशको राजनीतिक परिवृत्तमा खैलाबैला मच्चिरहेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विभिन्न देशमा पठाउने र त्यसबापत अरबभन्दा बढी पैसा असुल्ने धन्दामा राजनीतिका ठुल्ठुला मानिएका मानिस नै मुछिएपछि तीव्र क्रियाप्रतिक्रियाहरू आइरहेका छन् । यसै पनि अन्तर्राष्टिय संस्थाहरूले नेपालमा हुने गरेको भ्रष्टाचारका विषयमा कुरा उठाइरहेका थिए र राज्यको नीतिगत तहमा हुने भ्रष्टाचारले संस्थागत स्वरूप धारण गरेको कुरा देशभित्र पनि उठिरहेको थियो । तर यसअघिका भ्रष्टाचारका नमुना देशको सुशासन र जवाफदेहितामा मात्रै सीमित थियो ।
यसले देशको अर्थतन्त्रलाई कमजोर बनाउँथ्यो । राजनीतिक व्यवस्थालाई बदनाम गराउँथ्यो । जनतामा राज्यप्रतिको विश्वास कमजोर बन्थ्यो । नेता र कर्मचारीप्रति मानिसहरू नकारात्मक बन्थे र भन्थे–यो चोर हो । यी सबैले देशलाई त्यति धेरै असर गर्दैन जति अहिलेको शरणार्थी प्रकरणले असर गर्दछ ।
एउटा नेता चोर भए अर्को सज्जन नेता बन्न सक्दछ । जनताले छान्ने कुरा हो ढिलो चाँडो राम्रो मान्छे छान्न जनता आफैँ अभ्यस्त र सक्षम हुन्छन् । व्यवस्था बदनाम भयो भने फेरि अर्को व्यवस्था आउँछ । त्यसै पनि विगत साँढे सात दशकमा नेपालले ६ ओटा संविधान बनाइसकेको छ र बढीमा दुई दशकमा राजनीतिको अध्याय परिवर्तन भएको छ । नेता र कर्मचारीको कार्यशैली हेरेर निराश भएका जनतालाई अर्को नेता आएर आशाको रक्तसञ्चार गराउँदछ । अर्थतन्त्र कमजोर हुँदा गरिबी बढ्छ । केही मानिसले दुःख पाउँछन् । सक्नेले अलि बढी मिहिनेत गर्छ र व्यवस्थित हुन्छ नसक्नेले जेनतेन आफ्नो मानोको व्यवस्था गर्छ र मागेरै भए पनि पेट भर्छ । यसले देशलाई भित्री रूपमा पूरै असर गरे पनि बाह्य रूपमा खासै असर गर्दैन । तर यो शरणार्थी प्रकरण ठिक उल्टो छ । यसले भित्र केही असर गर्दैन बाहिर पूरै विश्वसनीयतालाई ध्वस्त बनाउँछ ।
नेपालीलाई भुटानी शरणार्थी बनेर भए पनि अमेरिकालगायत अन्य मुलुकमा जाने रहर कहाँबाट पलायो भन्दा त्यो सिधै राजनीतिसँग जोडिन आइपुग्छ । यहीँ राम्रो गरेको/भएको भए किन मानिस विदेश जान यति मरिहत्ते गर्थे ! देश छोड्न सजिलो छैन । देश छोड्दा देश मात्रै छोडिँदैन । भाषा, संस्कृति, जन्मभूमि (भूगोल), इतिहास सबै छोडिन्छ । सबैभन्दा बढी आफ्नो परिचय छोडिन्छ । यी सबै कुरा मानिसले रहरले छोड्दैन । २०४६ सालपछि सत्ताको बागडोर समालेका पार्टी र नेताले देश र समाजलाई राम्रो गरेको भए मानिस यसरी देश छोड्ने रहर गर्दैनथे । तर जनअपेक्षा अनुसार केही भएन । जसरी भूकम्पपछि गाउँगाउँमा विद्यालयका ठुल्ठुला भवन बने त्यसैगरी आजभोलि विद्यार्थीको अभावमा विद्यालयहरू बन्द हुँदै छन् । गाउँगाउँमा ठुल्ठुला बाटा बने तर त्यही बाटो प्रयोग गर्ने मानिस भने घटिरहेका छन् । गाउँमा ठुला भवन बन्दैमा विद्यार्थी सहर पस्न छोड्दो रहेनछ र ठुला अनि चिल्ला बाटा बन्दैमा पनि मानिस गाउँमा बस्दो रहेनछ । त्यसैले विगतमा हामीले दिएको प्राथमिकताले समाजलाई के दियो र के सिकायो भन्ने अहम प्रश्न यतिखेर तेर्सिएको छ ।
अव्यवस्था, बेथिति र नीतिगत तहमा हुने भ्रष्टाचार अनि रातारात नजिक र जानपहिचान भएका मानिसको जीवनमा देखिएको भौतिक परिवर्तनले आम मध्यमवर्गीय नेपालीलाई बेचैन बनाएको पक्कै हो । विश्वको बदलिँदो परिवेशले पनि नेपालीलाई बेचैन बनाइरहेकै छ ।
जसका कारण उसको रहर, आवश्यकता र खर्च पनि बढिरहेको छ । यसको व्यवस्थापन राज्यले गर्ने हो । समयानुकुल सुविधा भोग्ने चाहानालाई राज्यले व्यवस्थित गर्नुपर्छ । तर सत्ताको बागडोर समातेर बसेकाहरूले कति समय यो विषयमा छलफल गरे ? कति समय विज्ञहरूसँग परामर्श गरे ? राज्यको उत्पादन बढाउन कति लगानी गरे ? रोजगार सिर्जना गर्ने ठोस योजना के बनाए ? वैश्विक रूपमा दिन दुगुना रात चौगुना बढिरहेको प्रविधीकरणलाई आफ्नो पक्षमा पार्न के काम गरे ? जस्ता प्रश्नको उत्तर खोजिन्छ भने विदेसिन बाध्य भएका र रहर गरेका नेपालीको मनोदशा केलाउन सजिलो हुन्छ ।
केही मानिस भनिरहेका छन्– शरणार्थी भएर जान खोज्ने नेपालीलाई पनि कार्वाही गर्नुपर्छ । जसले यो देशको नागरिकता नै चाहिँदैन भनेर छोड्न तयार छ उसलाई के कार्वाही गर्ने ! कार्वाही त त्यसलाई गर्नुपर्छ जसले देश र जनतालाई राम्रो गर्छु भनेर जिम्मा लिएर पनि त्यही जनताको तस्करी गर्छ ।
देश भनेको केवल राजनीतिक सीमा मात्रै होइन । जनता मात्रै पनि देश होइन । भूगोल मात्रै पनि देश होइन । व्यवस्था त हुँदै होइन । देश भनेको एउटा संगठित संस्था हो । संस्थाका सञ्चालकहरूले मनोमानी गर्न थाले भने त्यसमा संलग्न भएका मानिसले मात्रै होइन संस्थाबाहिर बसेका मानिसले पनि संस्थालाई विश्वास गर्न छोड्छन् । एक पटक गुमेको विश्वासलाई पुनः जगाउन कुनै अर्को संस्था निर्माण गरेर विकास गर्नुभन्दा कयौँ गुणा कठिन हुन्छ । आज नेपाल त्यो अवस्थामा पुगेको छ । जुन देशका गृहमन्त्रीहरू, गृहमन्त्रीका सुरक्षासल्लाहकार, गृहसचिवहरू, पूर्व उपप्रधानमन्त्रीजस्ता उच्च ओहोदाका मानिस मानव तस्करमा मुछिन्छन् भने त्यो देशको अभिलेखलाई मित्रराष्ट्रहरूले कति विश्वसनीय मान्लान् ! आउँदा दिनमा त्यस प्रकारका समस्या बढ्दै जाने लक्षण देखिइरहेको छ ।
शरणार्थी प्रकरण विगतमा भएका भ्रष्टाचारको नवीन संस्करण मात्रै होइन । यो एकदुई अरबको कुरा मात्रै पनि होइन । यो प्रकरण हाम्रो बाह्य राजनीतिसँग पनि त्यतिकै जोडिन्छ र हाम्रो विश्वाससँग पनि जोडिएको छ । देश र जनताको सुरक्षा हेर्ने मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर कार्यदल बनाउँछ । कार्यदलले प्रतिवेदन तयार गर्छ । प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि नै स्वार्थ समूहमा पुग्छ र पैसा उठाउने धन्दा सुरु हुन्छ । त्यो पैसा मन्त्री सचिव सबैले लिन्छन् र स्वार्थ समूहको स्वार्थबमोजिम काम गर्छन् । पैसाकै लोभमा प्रतिवेदनमा भुटानी शरणार्थी भनेर नेपालीको नाम समावेश गर्छन् र तेस्रो देश पठाउँछन् । अब प्रश्न उठ्छ यदि त्यो देश जहाँ नेपालीहरू भुटानी शरणार्थी बनेर पसेका छन् तिनीहरूले फिर्ता गरिदिए भने के हुन्छ ? सरकारले गरेको काममा विश्वास त देखिएन । अब फेरि यस प्रकारका समस्या आउँदा ती देशले हाम्रो देशलाई कुन दृष्टिले हेर्लान् ! हाम्रो सरकारी डकुमेन्टलाई ती देशले विश्वास गर्लान् कि नगर्लान् ! देशको विश्वास गुम्यो भने माटो र ढुङ्गाले दुःख पाउने होइन दुःख पाउने भनेको नागरिकले नै हो । विदेशी एयरपोर्टमा नेपालीलाई गरिने व्यवहारका बारेमा अनुभवीहरू तीतो अनुभव सुनाउँछन् । अब तिमीले जारी गरेको पासपोर्ट नक्कली हो भनिदियो भने ! कुटनीतिक क्षेत्र त ध्वस्त भएकै छ । अब त्यसलाई पनि शङ्काको दृष्टिले हेर्न थालियो भने ! हाम्रा सरकारी कागजातलाई विश्वास गरिदिएनन् भने ! देशको विश्वसनीयता कहाँ जाला !
हामीले सुशासन र समृद्धिको बाधक राजतन्त्र हो भनेर गणतन्त्र ल्यायौँ । तर आजभोलि सुनिँदैछ छोरा समूहको काला कर्तुत पूर्वराजकुमारहरूको भन्दा कयौँ गुना बढी छ । केही छोराहरू शरणार्थी प्रकरणमा पनि समातिएका छन् । पञ्चायत कालमा जस्तै गणतन्त्रकालमा पनि ‘पम्फा’को मिथक झन तरुनो भएको छ । केही ‘पम्फा’हरू पनि यो शरणार्थी प्रकरणमा मुछिएका छन् । करोडौँ पैसाको खेलोमेलो भएको अडियो एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा अपलोड भइरहेका छन् । राजनीतिक पार्टी र सत्ता राजनीतिमा निर्णायक मानिँदै आएका मानिस यसरी देशका नागरिकलाई दोस्रो देशको शरणार्थी करार गरेर पैसा असुल्ने गोरखधन्दामा सामेल हुनु राष्ट्रिय लज्जाको विषयमात्रै होइन यो सङ्गठित रूपमा गरिएको राज्यद्रोह पनि हो । यसले अन्तर्राष्ट्रिय रूपमा नेपालको साख गिराएको छ । नीतिगत भ्रष्टाचारका कारण विश्वसनीयता त गुमेकै थियो अब मानवतस्करका कारण पनि देशले वैधता र विश्वसनीयता गुमाउँदै जाने छ । त्यसको क्षतिपूर्ति आउँदो कति पुस्ताले गर्नु पर्ने हो त्यो भने निश्चित छैन । यसरी देशको विश्वसनीयता र वैधता बेच्ने देशद्रोहीहरूका कारण नागरिकले कति सास्ती व्यहोर्नुपर्ने त्यो त बिस्तारै थाहा लाग्दै जानेछ ।
संस्था बलियो नबनाउनुको मूल कारण पनि यही हो । अख्तियार र प्रहरीले स्वतन्त्र काम गर्न पाउने भए यस प्रकारका राज्यविरुद्धको अपराध गर्ने साहस कसैलाई पनि हुने थिएन । लोभीपापीको भिडमा व्यक्ति बलियो बनाउने प्रवृत्तिले अपराध र राजनीतिलाई एकअर्काको पर्याय बनाउँदै लगेको छ । अपराध गरेर पैसा कमाउने र त्यही पैसाको बलमा राजनीतिमा टिक्ने प्रवृत्तिले समाजलाई कहाँ पु¥याउँछ त्यो त भोलिको पुस्ताले भोग्दै जाने छ ।
एउटा प्रकरण बाहिर आएपछि त्यसलाई विषयान्तर गर्ने प्रवृत्ति शीर्षस्थ भनिएका नेतामा देखिनुले उनीहरूको पनि यसमा संलग्नता छ भन्ने देखाउँछ र उनीहरू यसैलाई मलजल गरिरहन चाहान्छन् भन्ने पनि देखाउँछ । विगतमा ठुल्ठुला भ्रष्टाचारका मुद्दामा कर्मचारी फस्यो नेता उम्किए । शीर्षस्थ नेताको गतिविधि हेर्दा अहिले पनि त्यसको छनक देखिँदैछ । भाग्दैन भनेको मानिस फरार छ । एउटा पार्टीलाई मात्रै टार्गेट बनाइयो भन्ने लाञ्छना छ । मानौँ आफ्ना पार्टीका नेताले गरेको अपराध अपराधै होइन । मान्छे मार्ने ज्यानमाराले पनि मैले मान्छे मारेँ भन्दै हिँड्दैन । जब प्रहरीको अनुसन्धानमा परेपछि प्रहरीको प्रश्नमा अनुत्तरित हुन्छ तब मात्रै अपराध कबोल गर्न थाल्छ । विज्ञप्तिले अपराधलाई ढाकछोप पार्न सक्दैन ।
पार्टीमा गुट चलाउने र पार्टी कब्जा गर्ने अनि यस प्रकारका अपराध गरेर वितण्डा मच्चाउने जुन प्रवृत्ति देखिएको छ त्यसले तत्तत पार्टीका इमान्दार र तल्लो तहका नेताकार्यकर्ताको राजनीतिक भविष्य त अनिश्चित भएकै छ । इमान्दार हुँदाहुँदै पनि बदनामको पगरी पनि भिर्नु परेको छ । उनीहरूले न सुधार्न सक्छन् जित्न सक्छन् । नियतै ठिक नभएपछि कसैले टाउकै फोरे पनि केही लाग्दैन । त्यसैले यो शरणार्थी प्रकरणसँगै पछिल्लो पुस्ताका नेताकार्यकर्तामा एक प्रकारको बेचैनी र छटपटी बाहिर आउन थालेको छ । सम्भवतः त्यो छटपटीले राम्रो गर्छु भन्ने जमातलाई एकै ठाउँमा जम्मा पारिदियो भने अनौठो नमाने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया