प्रदेश २ झापड काण्ड: निजामती कर्मचारीद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाले बुधवार विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमवार ट्रेड युनियनले प्रदेश सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै मन्त्री यादवमाथि कारबाहीको माग गरेको थियो । २४ घण्टामा कुनै कारबाही नगरिएकाले आन्दोलित हुनुपरेको आधिकारिक ट्रेड युनियनले बताएको छ । 

विरोधमा प्रदेश २ भित्रका ३ वटै संघीय, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरु आन्दोनमा उत्रिएको कर्मचारीहरुको दाबी छ । 

आन्दोलनका कार्यक्रम अनुसार आज बुधवारदेखि शुक्रवारसम्म हातमा कालो पट्टी बाँधेर कार्यालय जाने र पेन डाउन समेत गर्ने घोषणा गरिएको छ । 

शुक्रवारसम्म पनि सुनुवाइ नभए सशक्त आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?