शारीरिक सुगठनको विश्वकपका लागि नेपालमा ‘प्रो क्वालिफायर’ आयोजना

काठमाडौं– शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’ का लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ को आयोजना हुने भएको छ ।  
आइएफबीबी लिग नेपालको आयोजना हुने प्रतियोगितालाई ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ नाम दिइएको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
 प्रतियोगिता काठमाडौंको ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने जनाइएको छ ।
प्रतियोगितामा सहभागि खेलाडीले ४ वटा क्याटागोरीमा ‘प्रो कार्ड’ जित्न प्रतिस्पर्धा गर्नेछन् ।
जसमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ तय गरिएको छ ।
प्रतियोगितामा भाग लिन अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका १०० बढी खेलाडी नेपाल आउने जनाइएको छ ।
‘मिस्टर ओलम्पिया’ हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुने गर्दछ । प्रतियोगितामा भाग लिनका लागि ‘प्रो क्वालिफायर’ खेली ‘प्रो कार्ड’ जित्नै पर्ने बाध्यात्मक नियम रहेको आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरुङले जानकारी दिए ।

आइएफबिबि लिग नेपाल ७ पल्टका ‘मिस्टर ओलम्पिया’ विजेता, बडिबिल्डिङका बादशाह मानिने हलिउड स्टार तथा अमेरिकास्थित क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध संस्थासँग आवद्ध छ । उनी ७ पल्टका ‘मिस्टर ओलम्पिया’ विजेता हुन् । यो संस्थाले शारीरिक सुगठनलाई व्यवसायिक रुपमा नेपालमा प्रबद्र्धन गर्ने काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?