स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

लोकपथ
35
Shares
श्वर्गद्धारी । आधारभूत तहमा पठन पाठन हुने स्थानीय पाठ्यक्रम संस्कृति जोगाउने माध्यम बनेको छ ।
स्थानीय तह र जिल्लाका पर्यटन, संस्कृति, रीतिरिवाज र महत्वपूर्ण विषयका बारेमा समेटिएका पाठ्यक्रमले परम्परा, संस्कार र संस्कृति जोगाउने माध्यमका रुपमा लिन थालिएको छ ।
प्यूठानको गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम २०७९ को शैक्षिक सत्रबाट लागू गरेको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने गरी स्थानीय पाठ्यक्रम लागू गरेको हो । पहिलो चरणमा गाउँपालिकाले कक्षा ५ मा लागु हुनेगरी ‘हाम्रो गौमुखी’ पाठ्यक्रम लागू गरेको हो । एक वर्ष पाठ्यपुस्तकविना शिक्षकले खोज तथा समन्वयमा विषयवस्तुका बारेमा जानकारी लिइ पठनपाठन गराइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार ‘हाम्रो गौमुखी’मा स्थानीय कला, गीतसङ्गीत, संस्कृति, खेतीबाली, परम्परा, वेषभूषा, नदीनाला, रहनसहन र पर्यटनसम्बन्धी विषयवस्तु समेटिएर पाठ्यक्रम तयार गरिएको हो । “आफ्नो गाउँबस्तीका धेरै कुरा समेटिएको हुँदा संस्कृति जोगाउने माध्ययम स्थानीय पाठ्यक्रमलाई लिएको छु”, उनले भने।
गौमुखीले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागू गर्ने नीति तथा कार्यक्रम तय गरेकामा हाल कक्षा ५ मा मात्रै लागू गरेको छ । यस वर्ष हाम्रो ‘गौमुखी’ नामक पाठ्यक्रमलाई पुस्तकको विकास गरी पठनपाठन गराउने तयारी छ । अन्य कक्षामा पाठ्यपुस्तकको निर्माण क्रमशः गरिने अध्यक्ष गिरीको भनाइ छ ।
‘हाम्रो माण्डवीः हाम्रो गौरव’ गाउँपालिकाले पनि पाठ्यक्रम निर्माण गरी एक शैक्षिक सत्र परीक्षा लिइसकेको छ । कक्षा १ देखि ४ कक्षा सम्मको पाठ्यपुस्तक निर्माणको गरी विद्यालयमा पठाउने तयारीसमेत भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिएका छन् ।
ग्रामीण जीवनशैली, रहनसहन, रीतिरिवाज, चार्डपर्व, संस्कृति, संस्कर र पर्यटकीय क्षेत्रसहित गाउँपालिकाबाट प्रवाह हुने सेवाका बारेमासमेत पाठ्यक्रममा समावेश छ । स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार तयार गरिएको पाठ्यक्रमले स्थानीय विषयवस्तुको मूल्यबोध, संस्कृतिको जगेर्ना, स्थानीय सरकार जिम्मेवार र उत्तदायी भूमिकाको निर्माण गर्ने विश्वास उनको छ ।
जिल्लाका अन्य स्थानीय तहले पनि स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सीप, प्रविधि, रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधार र विपद् व्यवस्थापन तथा सुरक्षा गरी १० वटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?