पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । रानीमहल परिसरमा शुक्रबार भएको खेलमा आर्मी, एपीएफ, पुलिस र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।
लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शुक्रबार भएको सूमह चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी विजयी बन्यो । दोस्रो खेलमा आयोजक पाल्पाले बागमती प्रदेशलाई २१–१४ र २१–११ तथा तेस्रो एपीएफले मधेश प्रदेशलाई २१–१२ र २१–१० को सोझो सेटमा पाखा लगायो । समूह चरणको अन्तिम खेलमा पुलिसले कर्णालीलाई २१–११ र २१–१४ को सेटमा हराएको थियो ।
शुक्रबारनै भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले मधेश प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेमा कर्णालीले गण्डकी र एपीएफले लुम्बिनी प्रदेशलाई २१–१७ र २१–१४ तथा २१–१० र २१–१२ को सोझो सेटमा पाखा लगाए । अन्तिम क्वार्टरफाइनलमा पुलिसले आयोजक पाल्पामाथि २१–९ र २१–१५ को सेटमा जित निकाल्यो ।
फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपीएफ र पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा बिहीबारबाट सञ्चालनमा आएको प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिम सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया