गोरु जुधाउने गाउँमा मान्छे जुधेर बबाल….

काठमाडौं– गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका ५) स्थित चन्दनीमा विगतका वर्षहरु झैं यो वर्षपनि माघेसक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भयो । 

२३ हल गोरु जुधाउनको लागि दर्ता भएकोमा माघेसक्रान्तिको दिन खेलकूदमन्त्री जगत विश्वकर्माको उपस्थितिमा २२ हल गोरु जुधाईयो ।

प्रतियोगिताका क्रममा छनौटमा परेका गोरुहरु एक घण्टा जुधे अनि छुट्टिए ।

त्यसपछि मेला सकियो ।  

सबैलाई थाहा भएको जानकारी यति नै हो ।

तर धेरैलाई थाहा नभएको प्रसंग के हो भने  तारुकाका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ जारी छ  । 

नुवाकोटको तारुकामा माघेसंक्रान्तिमा गोरु जुधाईयो । सबैलाई यतिमात्रै थाहा छ तर वर्षभरी मिहिनेत गरेर गोरु पालेका किसानको लागि दिईएको पुरस्कार राशि यति न्यून छ कि जो कोहिपनि नेपाली राजनीतिसँग चिढीन्छन् ।

गोरु जुधाईपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रुप दिएको भन्दै स्थानीय केही किसानले पुरस्कार बहिस्कार गरे । त्यतिमात्रै होईन किसानहरुले आफूले पाएको प्रमाणपत्र समेत च्यातिदिए । 
 

पुरस्कार वितरणमा आयोजकले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफूहरुले बुधबार गारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउ गरेको समेत भएको थियो । 

उनले गोरु जुधाइको नाममा मनग्य अनुदान आउने गरेको भएपनि समितिले विजयी गोरुधनीलाई ६ हजारमात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम गरिएको किसानको आरोप छ । 

पुरस्कार माघ १ गते दिईएको थिएन । जितेका गोरुधनीलाई कति रुपैयाँ दिने भन्ने बारेमा पनि कुनै घोषणा गरिएको थिएन । समितिले भेदभावपूर्ण व्यवहार गरेको किसानले बताए । 

गारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउसँगै धर्ना दिएपछि वडाध्यक्ष समर बहादुर आले, माघेसक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिव अधिकारीलगायत र किसानहरुबीच छलफल भएको थियो । छलफलपछि केहिले पुरस्कार लिए भने केहिले अस्वीकार गरे ।  केहि किसानले  त प्रमाणपत्र नै च्यातिदिएका थिए ।

विजेता र उपविजेतालाई २० हजार र १५ हजार  रकम दिनुपर्छ भन्ने किसानको मागमा सीमित आर्थिक स्रोतका कारण विजयी सहित उत्कृष्ट गोरु चयन भएका गोरुधनीलाई ७ हजार र उपविजेतालाई ५ हजार दिएको समितिले जनाएको छ । 

किसानले गोरु जुधाइको नाममा लाखौं उठाइएपनि न्यून पुरस्कार दिइएको, भेदभाव गरेको, विभेद भएकोले दुख लागेको बताए ।  

नेकपा तारकेश्वर गाउँपालिकाका नेता राजेन्द्र न्यौपानेले सभ्य ढंगले गोरु जुधाई मेला सम्पन्न भएको भन्दै केही अब विवाद गरिरहनु जरुरी नरहेको बताए । 

तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समर बहादुर आलेले विजयी गोरुधनीलाई बुधबार पुरस्कार र प्रमाणपत्र वितरण गरिसकिएको भन्दै यसमा कुनै विवाद नभएको दाबी गरे ।

पुरस्कारमा विवाद भएपछि नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन बोर्डबाट आउने रकम अव सिधै किसानलाई दिइने बताएका छन् । त्यसका लागि पहल भइरहेको उनको भनाइ छ । 

यसवर्ष गोरुजुधाइका लागि नुवाकोटको तारुकासहित बेत्रावती, पन्चकन्या र धादिङको लागि नेपाल पर्यटन बोर्डले रु २–२ लाख गरी ८ लाख बजेट निकासा गरेको सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिए । 

स्थानिय कला र संस्कृति राष्ट्रिय महत्व र चासोको विषय बनिरहेका बेला  बर्षभरी दुख गरेर  गोरु तयार पार्ने किसानको  लागि आएको बजेटमा राजनीतिक रंग दिनु आफैमा अमर्यादित भएको भन्दै सामाजिक सञ्जालमा समेत व्यंग्य भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?