महिला टी-ट्वान्टी स्म्यास क्रिकेट : नेपालद्वारा इन्डोनेशियासामु एक सय २१ रनको चुनौती प्रस्तुत

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनल खेलमा इन्डोनेशियाको सामना गरिरहेको छ । 

नेपालले इन्डोनेशियासामु १ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैककको ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै १ सय २० रनको लक्ष्य तयार पारेको थियो ।

नेपालका लागि सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । अर्धशतकिय पारी खेल्न केही रनले मात्र पछि परेकी उनले ४८ रनको योगदान दिइन् । यता इन्दु बर्माले नटआउट ३७ रन जोड्न सफल भइन् । त्यस्तै काजल श्रेष्ठले १४ रन बनाइन् । अहिले विजयी लक्ष्य लिएर इन्डोनेशियाले ब्याटिङ गरिरहेको छ ।

 हामीले यो समाचार तयार पार्दासम्म इन्डोनेशियाले ११ ओभरमा ९ विकेट गुमाउँदै २७ रन बनाएको छ ।  

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इन्डोनेशिया समूह ‘बी’को उपविजताको रुपमा अन्तिम चारमा स्थान तय गरेको थियो ।

आजको सेमिफाइनल खेलमा नेपालले इन्डोनेशियालाई पराजित गरेमा युएई र थाइल्याण्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । समूह चरणको चार खेलमा नै नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?