ट्रम्प र किमबीच दोस्रो भेट ‘केही सातामै’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ्-अनसँग दोस्रो शिखर सम्मेलन केहि हप्ताभित्रै हुने भएको छ । 

ट्रम्पले फेब्रुअरी महिनाको अन्ततिर नेता किमसँग दोस्रो शिखर सम्मेलन गर्ने ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाली वार्ताकार किम योङ्-चोलसँग ह्वाइट हाउसमा ट्रम्पको कुराकानी भएपछि उक्त घोषणा गरिएको हो ।

गत जुन महिनामा सिंगापुरमा भएको ऐतिहासिक पहिलो शिखर सम्मेलन यता परमाणु निरस्त्रीकरणको मुद्दामा खासै प्रगति भएको छैन । दोस्रो शिखर सम्मेलन कहाँ हुनेछ भनेर बताइएको छैन । तर यसपालिको भेट भियतनाममा हुने चर्चा चलेको छ ।

सिंगापुरको सम्मेलनमा खासै धेरै उपलब्धि भएका थिएनन् । हाल वाशिंगटन र प्योङयाङबीच परमाणु वार्ता रोकिएका छन् । उत्तर कोरियामा रहेका परमाणु अस्त्रबारेका विस्तृत जानकारी दिइएका छैनन् । आर्थिक प्रतिबन्धहरू कायमै छन् । तर नेता किम आफ्नो छवि उकास्न व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?