मङ्गलबार राती भएको आईपीएलको ६३औं खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्यो । यो जितसँगै लखनउ प्लेअफको नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स प्लेअफमा पुग्ने एक मात्र टोली हो। १८ अंक जोड्दै गुजरात टाइटन्स शिर्षस्थानमा रहेको छ । दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद आईपीएलबाट बाहिरिएका छन् । अब बाँकी तीन स्थानका लागि सात टोली प्रतिस्पर्धामा छन् र लिग चरणका सात खेल मात्र बाँकी छन् ।
लखनउको जितपछि सात टोलीको प्लेअफ समीकरणहरू के छन् ?
चेन्नई सुपरकिंग्स :
महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किंग्सले १३ खेलमा १५ अंक जोडेको छ । चेन्नई सुपर किंग्सले मे २० मा दिल्ली क्यापिटल्ससँग भिड्दै छ । यदि चेन्नईले आफ्नो अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सलाई हराएमा प्लेअफमा पुग्ने छ। तर चेन्नईले हार्यो भने मात्र १५ अंक हुनेछ। यस्तो अवस्थामा अन्य टोलीले खेल जितेर १६ वा १६ भन्दा बढी अंक बनाए चेन्नई समस्यामा पर्नेछ ।
लखनऊ सुपर जायन्ट्स :
लखनउ सुपर जायन्ट्सले पनि १३ खेलमा १५ अंक छ । तर लखनउ नेट रनरेटमा चेन्नईभन्दा पछाडि रहेको छ। लखनउले मे २० मा कोलकाता नाइट राइडर्ससँग खेल्ने छन् । यदि लखनउले उक्त खेल जित्यो भने १७ अंक सहितलखनउ प्लेअफमा पुग्ने छ। यदि चेन्नईले आफ्नो अन्तिम खेलमा पनि जित्यो भने दुवै टोलीको १७-१७ अंक हुनेछ र त्यसपछि नेट रनरेटको आधारमा नजिजा निर्भर हुनेछ ।
अर्कोतर्फ लखनउ कोलकातासँग हारे भने कठिनाइ बढ्नेछ । चेन्नई, मुम्बई, रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्सले उनलाई पछाडि छोड्ने मौका पाउनेछन्।
मुम्बई इन्डियन्स :
मुम्बई इन्डियन्सले १३ खेलमा १४ अंक जोडेको छ । यदि मुम्बई इन्डियन्सले आफ्नो अन्तिम लिग खेलमा सनराइजर्स हैदरावादलाई हराएमा १६ अंक जोड्नेछ । यदि मुम्बईको टोलीले हार्यो भने १४ अंक मात्र हुनेछ र त्यसपछि मुम्बईलाई प्लेअफमा पुग्न निकै कठिन हुनेछ ।
रोयल च्यालेन्जर्स बैंगलोर :
आरसीबीको टोलीले राजस्थानमाथि ठूलो जित हात पार्दै अंक तालिकामा ठूलो फड्को मारेको छ । आरसीबी पाँचौ स्थानमा पुगेको छ । आरसीबीको नेट रनरेट ०.१६६ छ। फाफ डुप्लेसिस र विराट कोहलीको टोलीले आफ्ना बाँकी दुई खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सलाई हराए पनि प्लेअफमा स्थान पक्का हुने छैन। प्लेअफमा स्थान बनाउन आरसीबीले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ। १४ अंकसहित आरसीबीलाई प्लेअफमा पुग्न कठिन देखिन्छ ।
राजस्थान रोयल्स :
राजस्थान रोयल्सले हालसम्म १३ खेल खेलिसकेको छ । खेलेको १३ खेलबाट राजस्थानले १२ अंक जोडेको छ । राजस्थानको नेट रनरेट ०.१४० रहेको छ । राजस्थानले अब आगामी खेलमा पञ्जाब किंग्ससँग भिड्ने छ । पञ्जाबविरुद्ध विजयी भएको खण्डमा राजस्थानको १४ अंक हुनेछ ।
गत वर्षको उपविजेता राजस्थानलाई प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्नेहुन्छ । यदि आरसीबी, लखनउ सुपर जाइन्ट्स र पञ्जाब किंग्सले आफ्ना दुवै खेल हारे र सनराइजर्सले गुजरात वा मुम्बईसँगको कुनै पनि खेल हारे भने राजस्थानको टोली प्लेअफमा पुग्नेछ ।
पञ्जाब किंग्स :
पञ्जाब किंग्सले हालसम्म १२ खेल खेलेको छ जसबाट पञ्जाबले १२ अंक जोडेको छ। पञ्जाबले अब दिल्ली क्यापिटल्स र राजस्थान रोयल्ससँग खेल्नुपर्नेछ । यदि पञ्जाबले बाँकी रहेको दुबै खेल जित्यो भने १६ अंक हुनेछ।
पञ्जाबको नेट रनरेट निकै कम छ । पञ्जाबले दुवै खेलमा जित निकाल्नुपर्छ, नत्र पञ्जाबलाई पनि अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।
कोलकाता नाइट राइडर्स :
कोलकाता नाइट राइडर्सले १३ खेलबाट १२ अंक जोडेको छ । कोलकाताले लखनउ सुपरजाइन्ट्ससँग एक खेल खेल्न बाँकी छ। यदि कोलकाताले लखनउविरुद्धको खेल जित्यो भने १४ अंक हुनेछ। यो जितमात्रै पनि कोलकातालाई काफी भने हुने छैन । कोलकाताले लखनउविरुद्ध जित हात पारेपनि अन्य टोलीको नेट रनरेटमा भर पर्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया