पत्रकार मनोहर ढकालको हत्यामा संलग्न चार आरोपि सार्वजनिक

मकवानपुर । पत्रकार मनोहर ढकालको हत्याम संलग्न दुई आरोपितसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

हेटौँडा ११ नवलपुर निवासी सञ्चारकर्मी तथा शिक्षक ढकाललको हत्यामा संलग्न दुई जनासहित उनीहरुलाई सहयोग गर्ने र मोबाइल, सुन खरिद गर्ने अन्य दुई जनालाई प्रहरीले पक्राउ गरी शनिवार बिहान सार्वजनिक गरेको हो । 

हत्यामा संलग्न हुनेमा हेटौँडा ११ का १९ वर्षीया अनमोल पुडासैनी, मनहरी गाउँपालिका १ का १८ वर्षीय प्रविण वाइवा रहेका छन भने ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोबाइल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ वर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौँडा २ का नारायणबहादुर सुनार छन् । 

जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिनसम्मको लामो अनुसन्धानपछि हत्यामा संलग्नलाई पक्राउ गरेको हो । 

पत्रकार सम्मेलनमा घटनाका मुख्य अभियुक्त पुडासैनीले आफूले ढकाललाई कुटपीट गर्दै धकेलेर हत्या गरेको स्वीकारेका छन्  ।

हत्यामा संलग्नलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्गत जन्म कैदसमेत हुनसक्ने व्यवस्था छ । 

ढकालको गत पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?