नागरिकहरुमा चरम आक्रोश बढ्दै गइरहेको तर्फ ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।

भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन÷अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शिर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही सुनिश्चित हुनुपर्ने तर्फ शान्ति समाजले ध्यानाकर्षण गराएको हो । यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन पनि शान्ति समाजले आग्रह गरेको छ ।

भ्रष्टाचारका दर्जनौ जघन्य काण्डहरुमा सम्मिलित नेताहरुलाई कारबाही नहुँदा नागरिकहरुमा चरम आक्रोश बढ्दै गइरहेकोतर्फ पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रहसहित कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले जेठ १ गतेदेखि शुरु गरेको देशव्यापी अभियानका क्रममा विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको छ ।

शान्ति समाजको प्रतिनिधिमण्डलमा सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, काठमाण्डौ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी र शाखा कोषाध्यक्ष विकास थापा सम्मिलित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?