कुराकानीको क्रममा कांग्रेसका केन्द्रीय तहका एक नेताले भने, ‘राजनीतिमा झुट र फुट यस्तै हो चलिरहन्छ ।’
सुन्दा सामान्य लागे पनि यसको दीर्घकालिन असर ठूलो रहन्छ । नेपाली राजनीतिको चरित्रले नेता र राजनीतिको पर्यावाची शब्द जस्तै बनेको छ ‘झुट’ । आम बुझाइमा झुटलाई नेताहरुले नै संरक्षण गरेको शब्द भन्दा फरक नपर्ला । नेपालका प्रजातन्त्रबादीहरु हरेक ठाउँमा आफ्नो फरक मत राख्न पाउने व्यवस्था ल्यायौँ भनेर त्यसको ब्याज खाइरहेका छन् । नेता र राजनीतिक दलमाथिको प्रतिबन्ध चिरेर आएको प्रजातन्त्र पुनस्थापनपछिको मिटरब्याज गणतन्त्रपछि पनि लिइरहेका छन् । त्यहीलाई उपलब्धी मान्दै लामो समयदेखि नेपाली राजनीतिमा फुटको श्रृंखला देखिइरहेको छ ।
कोही पार्टीभित्र आफ्नो झुट नबिकेपछि फुटको बाटो लाग्छन् र कतिपयले पार्टीभित्र झुट मात्रै हाबी भएपछि फुटको बाटोतिर पाइला मोड्छन् । यसको लामो र ऐतिहासिक फेहरिस्तसहित त्यसका असर देशले भोग्नुपरेको नियती छ ।
देशमा जन्मिएका ठूला भनिएका दलहरु जो अहिलेसम्म नफुटेका विरलै छन् । कहिले पार्टीभित्रको फरक मत नसुनिएपछि नेताहरु फुटको बाटोतिर लागेका छन् भने कतिपय अवस्थामा एकै विषयवस्तुमा पार्टीभित्र फरक मत भएपछि फुटको चक्र चलेको छ ।
०५४ र ०७८ मा एमाले, २००८ र ०५९ सालमा कांग्रेस होस् या २०६९ र त्यसपछिको अवस्थामा माओवादी । जो फुटबाट अछुतो रहेन । पार्टीको राजनीतिक जीवनमा आएका उतारचढावका कारण त्यहाँबाट केही समूह उछिट्टिएर अर्को दल वा समूह बनाउँछ । तर पूरानै पगरी गुथेकाहरुबाट नयाँ कामको थालनी नहुने भएपछि घरतिर आत्मसमिक्षासहित फर्किन्छन् भने कोही अन्य दलतिर लाग्छन् र कोही पार्टीभित्र खोजिएको शिद्धान्तको बयान गर्दै जीवन बिताउँछन् ।
एउटा पार्टीको राजनीतिक घरभित्र केही त्यस्ता पात्र पनि हुन्छन् जसलाई बाहिर समेत केही आशा गरिएको रुपमा हेरिन्छ । पार्टीभन्दा बाह्य बहसमा ती आश गरिएका पात्रले पार्टी सुधार गर्न सक्छन् की भन्ने आशा फरकधारतिर पनि रहन्छ । तर गल्ती नेतृत्वले गर्दा ति आशा गरिएका पात्रले समेत त्यो गल्तीको भागिदार बन्नुपर्दा कि ‘सच्चिने या त सक्किने’ भन्ने सुझाव पाइरहेका छन् ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले भनेका थिए, ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’ पार्टीभित्र नेतृत्वले गलत गरेको भनेर औंला ठडाइरहेकाहरुलाई विपीको उक्त भनाइले झस्काइरहन्छ र सच्चिने नभए सक्किने मार्ग तय गर्न तयार हुनुपर्ने बहस बेला बेला सबै दलमा उठ्छ । जुन अहिले नेपाली कांग्रेसमा उठेको छ ।
अहिले त्यही बहसमा छ नेपाली कांग्रेसको एउटा समूह । गगन–शेखर समूहको नाममा संस्थापन इतर समूहमा गत आम निर्वाचनपछि साे बहस शुरु गर्यो । गठबन्धनले देशभर कार्यकर्ता रुष्टिँदाको परिणामले त्यही बसहलाई मगजबाट बाहिर ल्यायो । गत वैशाख १० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूराना भनिएका दलहरुको ‘ब्याण्ड बाजा’ बजाएपछि अहिले त्यो बहस सतहमा छ । नेताहरु सच्चिने की सक्किने भन्ने बहस थालेका छन् ।
पार्टीको नेतृत्व गरिरहेका शेरबहादुर देउवाले पार्टीभित्रका सबै निर्णयमा हस्तक्षेप गर्दा कांग्रेस र बाहिरबाट समेत आशा गरिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी रुपान्तरणको बहसमा छन् । तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका उनीहरु हारपछि रुपान्तरणको बहसमा थप दरिलो गरी उत्रिएका हुन् ।
एकाएक फेरिएको मतदाताको मन फर्काउन नसिकने देखिएको रिपोर्टिङ गर्दा पनि नेतृत्वको दिलचस्पी नहुँदा धर्मसंकटमा देखिएका महामन्त्रीद्वय पार्टीको बैठकमा विद्रोह गर्दै आफ्नो निर्णय लाद्ने जोडमा पुग्छन् । बैठकमा पस्दा उत्साहित मोडमा हुने उनीहरु निस्किँदा हार मानेको जस्तो देखिन थालेपछि पटकपटक ठाउँठाउँबाट पार्टी नै फुटाउनुपर्ने सुझावहरु दिइरहेका छन् ।
सक्किने कि सच्चिने भन्नुको मतलब जसरी हुन्छ पार्टीमा विधि स्थागित गर्नु हो । सभापतिपछिको सबैभन्दा पावरफुल पदमा रहँदा पनि देउवा ‘ग्याङ’ कै मनोनित केन्द्रीय सदस्यले जति पनि पार्टी निर्णयमा हस्तक्षेप गर्न सक्ने अवस्था नभएपछि महामन्त्रीद्वयको रुपान्तरणको अभियान फुटको बाटो नहोला भन्न सकिन्न । तर स्वंय महामन्त्रीद्वय र सो समूहका अन्य नेताले पनि फुटकै अवस्थाबारे चुइक्क कतै बोलेका भने छैन । फोहोर पोखरी सफा गर्न पोखरी भित्र नपसि सकिँदैन भन्ने बुझेका गगन र मौन रुपमा नेतृत्वलाई चुनौती दिने स्वभावका विश्वप्रकाशले त्यतै सोच्लान् भन्ने पनि आंकलन गर्न सकिँदैन ।
उपनिर्वाचनको सम्मुखमा पार्टी छाडेर रास्वपातिर लागेका डा. स्वर्णिम वाग्लेबारे एक प्रशंगमा गगनले यसअघिको उदाहरणहरु दिँदै फुटेर जानेहरुको अस्तित्व अन्ततः पुन माउ पार्टीमै खोज्नुपर्ने अवस्था आएको बताएका थिए । त्यसले पनि उनीहरुमा पार्टीभित्र बसेर नै विद्रोह गर्नुको विकल्प देखिँदैन । भित्रै बसेर पनि विद्रोह कसरी गर्नु ? पार्टी निर्णयमा देउवाको एकलौटीपन, नेतृत्वको गल्तीमा आफू नरहेको घुमाउरो स्पष्टीकरण दिनु शिवाय अहिलेको अवस्थामा केही देखिँदैन् ।
विधि विधानबाट आएको सभापतिलाई विशेष परिस्थिती सिर्जना बाहेक न हटाउन सकिन्छ न काम गर्न सकिएन भनेर हात ठडाउन नै ! विशेष परिस्थितिमै देउवा सभापतिबाट बिदाबारी भएमा महाधिवेशन गराउन समेत कार्यबाहकको पद भने महामन्त्रीद्वय बाहेकले नै पाउने पक्कापक्की जस्तै देखिन्छ ।
अर्को कुरा रुपान्तरणकै बहसमा उत्रिएका गगन–विश्वको रुपान्तरण कस्तो हुन्छ भन्ने बाछिटाहरु बाहिर देखिएका छैनन् । गगन विश्वसँगै प्रदीप पौडेल, बद्री पाण्डे, गुरुराज घिमिरे लगायतका नेताहरु पनि त्यसको पक्षमा त देखिएका त छन् तर कसरी गर्ने खाका भने आएको छैन । सामाजिक सञ्जालबाट रुपान्तरण भन्दा पनि फुटाएर नयाँ पार्टी नै बनाएर जानुपर्ने सुझाव आइरहेका छन् । वैकल्पिक राजनीतिको लामो समयदेखि वकालत गरिरहेका साझा विवेकशील पार्टीका नेता मिलन पाण्डेले अब गगनविश्वले पार्टी फुटाएर जानुपर्ने सुझाव दिएका थिए ।
गगन विश्वलाई यस्तो सुझाव उनको मात्र होइन । कांग्रेसकै कतिपय ‘होल टाइमर’ कार्यकर्ता र बाहिरबाट सुभेक्षा राख्नेहरुले त्यस्तो सुझाव दिइरहेका छन् । तर उनीहरु स्वंय र उनको सचिवालयले भने त्यस कुरामा कुनै प्रतिक्रिया दिएको छैन । उनीहरुले पार्टीमा रुपान्तरण गर्ने त भनिरहेका छन् तर कुन तौरतरिकाबाट रुपान्तरण होला भन्ने बाहिििरन सकेको छैन ।
फेरि यो पनि थाहा छ की रुपान्तरणको नाउमा पार्टी फुटको अवस्थामा पुर्याउँदा त्यसले भोलिको दिनमा राजनीतिक जीवनमै दीर्घकालिन असर देखिने अनुमान महामन्त्रीद्वयमा छ ।
कांग्रेसभित्र पार्टी छोड्नुपर्ने अवस्था अहिले आएर मात्र भएको भने पक्कै होइन । पार्टीकै संस्थापक नेताहरुले जीवनको उत्तरार्धमा आएर पार्टीबाटै अलग रहेको उदाहरण किसुनजीदेखि गणेशमानसम्म छ । कांग्रेसमा फुटको विजारोपण चरण पार्टी निर्माणको आधा दशक समेत नहुँदै हुन थालेको हो । २००८ सालमा मातृकाप्रसाद कोइरालाले आफ्ना असन्तुष्टी राख्दै पार्टी फुटाए । पछि पुनः माउ पार्टीमै फर्किए । त्यसबीचमा मातृकालाई पार्टी फुटाउन उक्साउनेहरु कतिले माउ पार्टीमा फर्किएपछि आफ्नो अस्तित्व जोगाए कति विलिन भएर गए ।
बिचमा असन्तुष्टीहरु पोखिँदै त्यसलाई सामसुम पारिँदै पार्टी चलेकै थियो । २००८ मा मातृकाले चलाएको फुटको काम २०५९ सम्म आइपुग्दा शेरबहादुर देउवाले निरन्तरता दिए । गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र हुकुमी शासन चलाएकोमा रुष्टिएर अहिले महामन्त्रीद्वयको जस्तै हालतमा रहेका शेरबहादुर देउवाले रुपान्तरण गर्नुपर्ने बहस त चलाएका थिए । तर नेतृत्व टसमस नभएपछि अन्ततः प्रजातान्त्रिक कांग्रेसबाट नयाँ दलको नेता बनेका देउवा पहिलो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा पुनः पुरानै घरमा आइपुगे । त्यसपछि निरन्तर ६०–४० मा कुरा मिलाउने भन्दै गिरिजाप्रसाद कोइरालासँग छलफल चले पनि पछि २०६४ सालमा आएर पार्टी एकीकरण भयो ।
२०५९ अघि पार्टीभित्र देउवा आफ्नो बोलवाला नभएको जस्तै महामन्त्रीद्वय पनि त्यही हालतमा छन्, अहिले । पार्टीभित्र र बाहिरबाट आफूमाथि ठूलो अपेक्षा रहेको पाएका गगनले केही दिन अघि सामाजिक सञ्जालमा लेखेको कुराले उनी पार्टीभित्र अति दिक्किएको र विद्रोह गर्ने संकेतको रुपमा हेरिएको छ । हरेक भाषणमा समिक्षा गर्दै सुधारिएर रुपान्तरणको बाटोमा जानुपर्ने वाक्य नछुटाउने गगनले सामाजिक सञ्जालमा एकाएक पार्टीमा ‘अत्ति भयो’ भन्दै पोखिए ।
त्यो उनको विद्रोहको संकेत नै थियो । त्यहाँ आएका हजारौँ प्रतिक्रिया हेर्दा अब अत्ति भएको र त्यसबाट निकास दिनका लागि पार्टीबाटै अलग भएर विद्रोह गर्न सुझाव दिइरहेका छन् । हुन पनि पार्टीभित्र अत्ति नभएको भने होइन । निर्वाचित महामन्त्रीले जित्दै आएको क्षेत्रमा समेत अन्य व्यक्तिलाई उठाएर टिकटविहिन बनाउन खोजिएको भन्दै बाहिर प्रचार भएको थियो । भने पार्टीको घोषणापत्र निर्माणमा सक्रियता देखाएका र बाहिरबाट समेत चर्चा कमाएका केही पात्रलाई कांग्रेसले संरक्षण गर्न नसकेको तातो उदाहरण सम्मुखमै छ । मनिष झा होस् या स्वर्णिम वाग्ले जसलाई कांग्रेसले संरक्षण गर्न नसक्दा अन्य पार्टीबाट अहिले प्रतिनिधि सभामा सशक्त आवाज उठाइरहेका छन् ।
हो, यही परिस्थितीमा गगन–विश्वको विद्रोह ठिकै होला । तर विद्रोहको नाममा पार्टी नै फुटाउने अवस्थामा पुगे भने उचाल्नेहरु भने संस्थापनमै रहेर वा पछि फर्किएर पुरानो पार्टीमा मिसिनुको विकल्प नहुने विश्लेषकहरु बताउँछन् ।
उसो त भर्खरकै ज्वलन्त उदाहरण हो एमालेबाट एकीकृत समाजवादीबाट फुट्नु । २०७७ पुस ५ गते एकाएक तत्कालिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे । नेकपाका अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालकै नेतृत्वमा आन्दोलन भइरहँदा सर्वोच्चले पार्टी विभाजनको आदेश दिएसँगै प्रचण्ड माओवादीकै कमाण्डमा फर्किए । माधव नेपाल के गर्ने मनसायमा रहँदा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन त सहज भयो । तर जसले ओलीसँग विद्रोह गर्नुपर्छ भनेर उचालिरहेका थिए उनीहरुले नै साथ नदिने अवस्था आयो र अहिले तीनै उचालेर पार्टी फुटाउन लगाउनेहरुले समेत छोड्दै हिँडेका छन् ।
त्यसलाई नजिकबाट नियालेका गगन–विश्वको विद्रोह आगामी महाधिवेशनसम्मका लागि पर्खिएर पार्टीभित्र आफ्नो पहुँच बढाउँदै लैजाने नै हुन्छ । तर फेरिएको परिवेश र मतदाताको मनसायलाई आकर्षित गर्दै कांग्रेसको साख जोगाउने हो भने गगन–विश्वले भनेको जस्तो पुस्तान्तरणसहितको रुपान्तरणको बाटोमा कांग्रेस जानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया