प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आज स्वीट्जरल्याण्डको डावोस जाँदै छन् । 

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन् ।

विश्वव्यापीकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चले करिब पाँच दशकदेखि निरन्तर आयोजना गरिरहेका डावोस बैठकमा प्रधानमन्त्रीस्तरमा नेपालको सहभागिता हुन लागेको यो पहिलो पटक हो ।

सम्मेलनमा जी २० सहित विश्वका १५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरुको जमघट हुँदैछ ।  

जनवरी २२ मा ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट धारणा राख्नेछन् । 

त्यस्तै ओलीले जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले जनवरी २४ मा जि–ट्वान्टी मुलुकसहितका देशका नेताहरूसँग छलफल गर्नेछन् । 

प्रधानमन्त्रीको नेतृत्वमा जान लागेको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीसहित १९ जना सहभागी रहनेछन् ।

प्रधामन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?