डा. केसीको माग सम्बोधनप्रति सरकारको बेवास्ता, डक्टर्स एशोसिएसनद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । इलामबाट १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको माग सम्बोधनप्रति सरकार गम्भीर नभएको उनका समर्थकहरुले बताएका छन् । 

डा. केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै गत पुस २५ गते इलामबाट अनुसन शुरु गरेका थिए । अनसनको १२ औँ दिनसम्म पनि सरकारी पक्षबाट डा. केसीको अनसन तोडाउने कुनैपनि पहल नभएको उनका समर्थकहरुले जनाएका हुन् ।

यसैगरी आजै प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्डको डावोस जाँदै छन् । 

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतवार साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन् ।प्रधानमन्त्री ओली समेत स्वीजरल्याण्ड भ्रमणमा जाने भएपछि डा केसीको माग सम्बोधन अन्योलमा पर्ने भन्दै उनका समर्थहहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच आवासिय चिकित्सकहरुको संस्था नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले सरकारको कामप्रति असन्तुष्टी जनाएका छन् । 

नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले डा. केसीको अनसन तोडाउने सरकारले ठोस पहल नभए कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

एशोसिएसनले डा. केसीको अनशनका मागप्रति ऐक्यवद्धता जनाउँदै विगतको सहमतिअनुरुप चिकित्सा शिक्षा ऐन पारित गर्न र डा. जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकासँग माग गरेको हो ।

अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनद्वारा संयुक्त रुपमा हस्तक्षरित विज्ञप्तिमा सरकारको लापरबाही र वेवास्ताको विरोध स्वरुप कालोपट्टी बाँधेर खटिने उल्लेख गर्दै  त्रिवि शिक्षण अस्पताल परिसमा डा.केसीको समर्थनमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । 

डा. केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रवार राति नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो । 

उनको अहिले शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ भने डा. केसीको छातीमा देखिएको संक्रमण निण्ँत्रणका लागि एन्टिबायोटिक चलाइएको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएको छ । 

डा केसीलाई छाती दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुखाइ न्यून रक्तचाप, अक्सिजनको कमी लगायतका समस्या बढ्दै गएको चिकित्सकले जनाएका छन् ।  
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?