नेपालको गलत नक्सा प्रकाशन र प्रयोग गरे २० हजार जरिवाना

काठमाडौं । नेपालको गलत नक्सा प्रकाशन तथा प्रयोग गरे कानूनी कारबाही हुने भएको छ । 

आइतवार पत्रकार सम्मेलन गर्दै नापी विभागले कुनैपनि सञ्चारमध्यमले नेपालको गलत नक्सा प्रकाशन तथा प्रयोग गरे २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने बताएको छ । 

विभागले सञ्चार माध्यमहरुमा नेपालको गलत नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिक हो वा होइन भनेर जाँचेरमात्रै प्रकाशन गर्न आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गणेश भट्टले भने, अधिकांश सञ्चारमाध्य, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले  गलत नक्सा प्रयोग गर्ने गरेको बताएका छन् । 

उनले भने, ‘अधिकांश मिडिया, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत गलत नक्सा प्रयोग गर्ने क्रम रोकिएको छैन । राष्ट्रियताजस्तो विषयमा सबैले अलिकति ध्यान दिनुपर्ने हो । ध्यान नदिँदा गलत सन्देश प्रवाह हुन्छ । त्यसैले हामीले बारम्बार भन्दै आएका छौँ । यदि कसैले नेपालको नक्सा प्रयोग गर्नुपर्यो भने विभागको वेवसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गर्दछौँ ।’ 

विभागले २०७४ साल असोज २ बाट नयाँ नक्सा प्रयोगमा ल्याएको थियो । 

‘नेपालको नयाँ नक्सा प्रयोग सबै सरकारी कार्यालयमा पत्र समेत पठाइसकेको छौँ ।’ महानिर्देशक भट्टले भने । तर, गलत नक्सा प्रयोग गर्ने क्रममा नरोकिएपछि कानूनी कारबाहीको प्रक्रियामा जना बाध्य भएको उनले बताए । 

जग्गा नापजाँच ऐन, २०१९ को दफा १२ (५) बमोजिम गलत नक्सा प्रकाशन गरेमा रु २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने व्यवस्था छ ।

विभागले डिजिटल रुपमा नेपालको नयाँ नक्सा वेवसाइटमा राखेको छ । अबको केही दिनमा नक्सा छापेर प्रचारप्रसार गर्ने पनि महानिर्देशक भट्टले जानकारी दिए । 

उनले भने सर्वसाधारणलाई सहि नक्सा र गलत छुट्याउन सजिलो होस् भनेर सुदूरपश्चिमको दार्चुला जिल्लाको माथिल्लो भाग डाडुजस्तो भएको नक्सा गलत हो र चुच्चो भएको नक्सा सहि हो ।
नक्सा प्रयोग गर्दा चुच्चो भएको नक्सा प्रयोग गर्नु उनले आग्रह समेत गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?