खेलाडीहरु मानसिक रुपमा फिट नहुँदा उपाधि जित्नबाट बञ्चित : प्रशिक्षक दाश

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक विनोद दाशले थाइल्याण्डमा सम्पन्न भएको टी-ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिताले खेलाडीहरुको मनाबेल उच्च बनाउन मदत गरेको बताएका छन् । 

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रशिक्षक दाशले उक्त टी-ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिताले आउँदो प्रतियोगिताको लागि थप सहयोग गरेको जानकारी दिएका हुन् । 

‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १२ वर्ष पछि पहिलो पटक फाइनलमा पुग्दै नेपाल उपविजेता बनिसकेको छ, हामीले यो प्रतियोगिता खेल्नु अगावै फाइनलसम्म पुग्ने लक्ष्य बनाएका थियौं, नेपालले समूह चरणदेखि फाइनलसम्म सोचे भन्दा पनि राम्रो खेल्यो, तर, फाइनलमा भने हामी थाइल्याण्डसँग स्तब्ध भयौ, उनीहरु हामीहरु भन्दा धेरै बलियो टिम रहेको देख्यौं, थाइल्याण्डको टिम मानसिक र शारीरिक रुपमा निक्कै बलियो छ’,उनले बताए । 

साथै प्रशिक्षक दाशले दुई वर्षदेखि शुन्य रहेको नेपाली महिला टिमले १५-२० दिनको प्रशिक्षण गरेर खेलको प्रतियोगितामा उपविजेतासम्मको उपलब्धी हासिल गर्नु ठूलो कुरा रहेको समेत जानकारी दिए । 

‘थाइल्याण्डको टिम नियमित अभ्यास गर्नुका साथै प्रतियोगिताहरु पनि खेलिरहेको छ, तयारी पनि राम्रै गरिरहेको छ, तर, नेपाली टिमले कम समयको तयारीमा पनि सम्मानजनक नतिजा निकाल्न सफल भएका छौँ’, उनले थपे । 

त्यस्तै फाइनल खेलका दौरान नेपाली टिम मानसिक रुपमा दवावमा आएको पनि उनले बताए ।

‘थाइल्याण्डविरुद्धको फाइनल खेलमा नेपाली टिम मानसिक दवावमा आएको थियो, त्यसको असर प्रर्दशनमा देख्यो, ब्याटिङ र बलिङमा कुनै कमिकमजोरी छैन, तर मानसिक रुपमा भने नेपाली टिम कमजोर छ, टोलीलाई बन्द प्रशिक्षणको समय पनि कम भयो’, प्रशिक्षक दासले बताए । ‘अर्को महिना हुने छनोट प्रतियोगिताको लागि अहिलेदेखि नै तयारी शुरु गर्नुपर्छ, टी-ट्वान्टी प्रतियोगितामा देखिएको कमीकमजोरीलाई आउँदो प्रतियोगितामा सुधार गर्दै प्रर्दशन गर्नेमा आशावादी छु ।’

यता नेपाली टिमकी कप्तान रुबिना क्षेत्रीले महिला टिमले अहिलेसम्म कै उत्कृष्ट प्रर्दशन गरेको बताइन् । ‘यसपालीको प्रतियोगितामा खेलाडीहरुमा इगो, हंगर र इन्टेन्सन सबै देखियो, दुई वर्षदेखि शुन्य अवस्थामा रहेको नेपाली टिमले थाइल्याण्डमा सोचेभन्दा उत्कृष्ट खेल खेल्यो’, उनले भनिन् । 

उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित हुँदै प्रतियोगिता जित्नबाट बञ्चित भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?