मेलम्ची खानेपानी आयोजना: इटालियन कम्पनीसँगको सम्झौता रद्द

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ ।

सरकारले ठेकेदार पक्षलाई सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी गरेको छ । 

आयोजनाले शुक्रवारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया शुरु गर्ने चेतावनीसहितको इमेल शुक्रवार बेलुका कम्पनीलाई पठाएको थियो ।

क्रिसमस मनाउन भन्दै गत मंसिर २९ गते स्वदेश फर्किएको सीएमसीका कर्मचारीले नेपाल बाहिर वार्ताको सर्त अघि सारेको मन्त्रालयले जानकारी दिए । 

क्रिसमस मनाउन प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोलीलाई सरकारले स्वदेश जाने अनुमति दिएको थियो । 

आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै उनीहरुलाई सरकारले केही दिन नियन्त्रणमा लिएपनि फर्कने सर्तमा इटली उड्न दिएको थियो । 

‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर उसले (सीएमसी) घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारि गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ’ मन्त्रालय स्रोतले जानकारी दिए । 

केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ । 

यसरी नयाँ माग तेस्र्याएर पनि आयोजनाले काममा फर्कन आग्रह गरेको थियो । 

यसैगरी आयोजनाका कार्यकारी निर्देशक कँडेलले आयोजनाको म्याद आगामी फेब्रुअरी १० सम्म मात्रै भएकाले अब सरकारले उसको धरौटी जफत र सरकार आफैंले आयोजनाको काम गर्नुपर्ने जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?