‘रणवीर’ ले नेपाली समाजको कथालाई उठाएको छः निर्देशक

काठमाडौं । आउँदो माघ १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘रणवीर’ टिम प्रचारलाई समेत फाइदा हुने गरी मोफसलको यात्रामा निस्केको छ । पोखरा पुगेको निर्माण टिमले शनिवार पोखरामा पत्रकार भेटघाट गरी फिल्मका बारेमा जानकारी समेत गरायो ।

पोखरामा फिल्मका अभिनेता सुशील सिटौला, नायिका सुपुष्पा भट्ट, सुभेच्छा खड्का लगायत उपस्थित थिए । कार्यक्रममा बोल्दै अभिनेता सुशीलले यसअघिका फिल्ममा चकलेटी देखिए पनि यो फिल्ममा भने एक्सन भूमिका निभाएको बताए । उनले भने, ‘यो फिल्ममा म मुलुकमा देखिने विकृति तथा विसङ्गतिका विरुद्ध उत्रिएको छु ।’

साथै उनले चलचित्रको भूमिकाबारे कुरा गरेर भन्दा पनि काम गरेर देखाएकाले फिल्म हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरे ।

फिल्ममा अभिनेत्रीद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्ट लगायत प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

नायिका एवम् मिस नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यस अघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि यो फिल्मको स्किृप्टले नै आफ्नो मन जितेकाले फिल्ममा साइन गरेको बताइन् । यो फिल्मले दर्शकको मन जित्नेसमेत बताइन् ।

यस्तै सुपुष्पाले पनि चलचित्रमा आफूले काम गर्दा निकै सजिलो भएको र आफू प्रेमिकाका रुपमा प्रस्तुत भएको बताइन् ।

यो फिल्मका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय सिनेमा उधोगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको धारणा राखे । उनले दक्षिण भारतीय फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका थिए । निर्देशकले भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए । रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा शसक्त भएको जिकिर गरिन् । उनले नारी निर्माताहरुले पनि राम्रो सिनेमा बनाउन सक्छन् भन्ने उदाहरण यो फिल्मबाट प्रष्ट हुने बताइन् ।

तिरिमिरी तिन तारा…गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको ‘रणवीर’मा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?