उपाधि होडमा रहेको बार्सिलोनाको सहज जित, लिगमा ५ अंकको अग्रता बनायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोना विजयी भएको छ । 

घरेलु मैदान क्याम्प नाउमा आइतवार राति सम्पन्न भएको २० औँ चरणको खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३२ औँ मिनेटमा बार्सिलोनाका लागि ओसुमाने डेम्बेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल ग-यो । खेलको ५७ औँ मिनेटमा लेगानेसका लागि मार्टिन ब्रेथवेटले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको ७१ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । खेल सकिनै लाग्दा लियोनेल मेस्सीले गोल गरेपछि लेगानेस स्तब्ध बनेको थियो । जितपछि बार्सिलोनाले ५ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले ४६ अंक बनाएको छ । एथ्लेटिको म्याड्रिड ४१ अंकका साथ लिगको दोस्रो स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा रियल बेटिसले जिरोनालाई ३-२ गोल अन्तरले तथा लेभान्तेले रियल भाल्लाडोलिटलाई २-० गोल अन्तरले पराजित ग-यो । यता भिल्लारियलले एथ्लेटिको बिल्बाओलाई एक-एक गोलको बराबरीमा रोक्यो ।

रायो भाल्लेकानो र रियल सोसिडाटबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?