डा. केसीको अनसनकै बीच चिकित्सा शिक्षा विधेयक पारित हुँदै

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । 

प्रतिनिधिसभाको सोमवार बस्ने बैठकले सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्न लागको हो । बैठक मध्यान्ह १२ बजेपछि बस्ने गरी बोलाइएको छ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकै बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको हो । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले इलामबाट गत पुस २५ गतेदेखि १६ औँ अनसन गरेका थिए । उनले शुरु गरेको अनसनको आज (सोमवार) १३ औं दिन हो । 

१५ औँ अनसनका क्रममा गत साउन १० गते सरकार र डा. केसीबीच भएका सहमति विधेयकमा उल्लेख गर्नुपर्ने उनको माग छ । 

सत्तारुढ दलका सांसदले शिक्षा तथा स्वास्थ्य समितिले प्रतिवेदन सहित पेस गरेको विधेयक हुबहु पारित गर्नुपर्ने बताएका छन् ।

यद्धपी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने डा. केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने अडानमा रहेको छ ।

यसैगरी विधेयकमा भएको व्यवस्था अनुसार डा. केसीको माग पूरा गर्नपर्ने तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको भन्दै संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी छ ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेवल हुने कार्यसूची छ । 

यसैबीच आजै राष्ट्रियसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । 

विहान ११ बजे बस्ने बैठकमा जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक र विज्ञापन नियमन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । 

साथै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयकमाथी प्रतिनिधिसभाबाट भएको संशोधन उपर छलफल हुने कार्यसूची रहेको सचिवालयका सहप्रवत्ता केशव अर्यालले जानकारी दिए ।

यद्धपी आफ्ना माग सम्बोधन नभए प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बस्ने बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसको तयारी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?