एक्सन सिन गर्दा लागेको चोट शूटिङमा दुख्दैनथ्यो, पछि दुख्थ्यो: सुशील सिटौला

काठमाडौं । सुशील सिटौला पहिलो फिल्मबाटै चर्चा बटुल्ने  कलाकारमा पर्छन् । डेब्यु फिल्म ‘होस्टेल रिर्टन्स’ बाट सुशीलले दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाए । फिल्ममा उनी सुदुरपश्चिमबाट काठमाडौं पढ्न आएका एक विद्यार्थीको भूमिका निभाएका थिए । उक्त फिल्म अहिले युट्युबमा उपलब्ध छ ।

अहिलेसम्म आइपुग्दा सुशीलले चार फिल्ममा काम गरिसकेका छन् । यतिबेला भने उनी ‘रणवीर’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी पूरै एक्सनसहित कमब्याक गरेका छन् ।

फिल्मको छायांकन ८२ दिन लगाएर गरिएको थियो । ८२ दिनमा निर्र्माण टिम निकै खटिएको थियो, ताकि फिल्मलाई अझ राम्रो बनाउन सकियोस् ।

सुशील सुनाउँछन्, ‘जोसिला निर्देशक र द्वन्द्व निर्देशक लगायत शूटिङ सेटमा हुँदा मलाई काम गर्ने अझ बढी आत्मबल पुगेको थियो, मेरै चरित्र वरिपरि फिल्मको कथा लेखिएकाले पनि अझ बढी जिम्मेवारी थियो ।

शूटिङको समय निकै व्यस्ततामा बितेको सुशीलले स्मरण गर्छन् । ‘मैलै शूटिङ सयमका ८२ दिनसम्म एकछिन पनि फुर्सद पाएको थिएन, आफ्ना लागि समय नछुट्याई काम गरेको थिएँ’, उनले सुनाए, ‘बिहान भएको पनि थाहा हुँदैनथ्यो, काम गर्दागर्दा रात परिसकेको पनि हेक्का हुँदैैनथ्यो ।’

सुशील मात्र होइन, पूरै टिम उसैगरी खटेर लागिरहेका थिए आउटपुट राम्रो दिन । निर्देशकले पनि खाना नखाई काम गरिरहेका थिए । सबै काममा नै बढी ‘फोकस’ थिए ।

‘मलाई के पनि जिम्मेवारी थियो भने, धेरैले मलाई एक्सनका लागि नयाँ भएकाले अरु कलाकारलाई जोगिन भन्नुहुन्थ्यो, मैले त्यसलाई ख्याल गरेँ, त्यस्तो चोट लाग्न दिइन ।’, सुशीलले सुनाए ।

जोगिनु एउटा पक्ष थियो । तर, चोट लाग्दै नलाग्ने भन्ने चाहिँ थिएन । क्लाइमेक्सको शूटिङ गर्दा चोट पनि लागेको थियो । किनकि पर्दामा देख्दा रियल देखियोस् भनेर रियल फाइट गरेका थिए कलाकारले ।

‘अलिअलि चोट पनि लाग्यो, हातमा, टाउकोमा, खुट्टामा जहाँ पनि चोट लाग्थ्यो, फिल्मको शूटिङमा त फिल हुन्थेन, पछि दुख्न थाल्यो’, उनले अनुभव साटे, ‘एक्सन फिल्म पनि आर्ट नै हो तर यस्तो फिल्म गर्न बढी गाह्रो भएपनि निर्देशक र द्वन्द्व निर्देशकले मलाई सहज बनाइदिनुभयो ।’

सुशीलले अगाडि थपे, ‘शूटिङअघिको रिहर्सले  पनि अभ्यास भइरहेको हुन्थ्यो, तर कहिलेकाहीँ त एक तरिकाले रिहर्सल ग–यो, फेरि अर्कै अर्कै गर्नुपर्ने भो भनेर निर्देशकले भन्नुहुन्थ्यो, फेरि रिहर्सल थालिन्थ्यो ।’

पहिले आफूले एक्सन फिल्ममा काम गर्न सक्दिन कि भन्ने लागेपनि पछि भने आत्मविश्वास बढेको सुशील बताउँछन् । शूटिङ सेटमा पनि आफूले चित्त नबुझे फेरि टेक लिऔँ भनेर निर्देशकलाई भन्ने गरेको उनले सम्झे ।

फिल्मको ट्रेलरमै एउटा दृश्यमा प्रशान्त ताम्राकारले सुशील सिटौलाको घाँटी समाउँछन् ।

यो दृश्य गर्न आफूलाई त्यतिबेला गाह्रै परेको बताउँछन् सुशील । ‘त्यो दृश्यका लागि म बिहानैबाट उड्नुपरेको थियो, बिहानैदेखि टोचन लगाएको थिएँ, त्यसले पेट च्याप्दोरैछ’, सुशीलले शूटिङको समय स्मरण गर्दै सुनाए, ‘त्यतिखेर पिसाबले पनि च्यापेको थियो, पिसाब फेर्न पनि समय थिएन, अर्कातिर पेट च्याप्दाखेरि रक्तसञ्चार कम भएर टाउको दुख्ने पनि हुँदो रहेछ ।’

द्वन्द्व निर्देशकले सोध्थे, ‘सुशील तिम्लाई गाह्रो त भएको छैन?’

सुशीलले भन्थे, ‘अहँ दाइ, मलाई केही भएको छैन, जस्ट टेक लिऔँ ।’

आफ्ना समस्या अरुलाई सकभर सुनाउन मन नलागेकाले आफूलाई केही नभएको भन्दै काम गरेको सुशील बताउँछन् ।

सुशीलले सबै टिमको किसिमको एनर्जी देखेर आफूलाई पनि काम गर्ने जोश आएको बताउँछन् । उनले भने, ‘सबै टिमको फिल्मप्रतिको लगावले पनि मलाई काम गर्न प्रेरित ग–यो, निर्देशकले नै खाना नखाई फिल्मका लागि काम गर्नुभएको थियो, त्यसले हामीलाई पनि उर्जा मिल्यो ।’

फिल्म युनिट अरु कुरामा भन्दा पनि काममा नै बढी फोकस थियो । अर्कातिर फिल्मको चरित्रले पनि रणवीर बन्न सुशीललाई बलियो बनाइदिएको थियो ।

सुशीलले स्किृप्ट पढ्दा नै यो स्किृप्ट पढिसकेपछि गर्न सक्दिन कि भन्ने पनि लागेको थियो । निर्देशकले उनलाई भन्दा नै यो फिल्म ठूलो फिल्म भएकाले पनि आफूले गर्न सक्दिन कि भन्ने लागेको थियो । तर, निर्देशकले सुशीललाई कन्भिन्स गरे । जोश थपिदिए ।

‘फिल्मको अफर आउँदा म आफूलाई लक्की पनि ठानेँ, यो क्षेत्रमा आइसकेपछि यो मेरा लागि ‘मौका’ पनि हो भन्ने लाग्यो ।’, उनले अगाडि थपे । 

आफूलाई फिल्मको कथा मन परेकाले मेहनत गरेर सुशील सिटौलाबाट रणवीर भएको सिटौलाले बताए । भने, ‘हुन त फिल्म सबैले मेहनत गरेरै बनाउने हो, मैले गरेका चारवटा फिल्ममध्ये यो फिल्ममा केही छ कि भन्ने लाग्छ, संवाद पनि निर्देशकले जुन भिजनमा लेख्नुभएको छ, त्यसले मन छुन्छ, अनि फिल्ममा एक्सन छ तर एक्सन मात्र छैन ।’

तस्वीरहरू आर्यन बिमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?