मलेसिया श्रम सम्झौता: दूतावासबाट सोझै भिसा पाएकालाई श्रमस्वीकृत दिन शुरु

काठमाडौं । सरकारले कलिङ भिसा आइसकेकालाई मलेसिया जानका लागि अन्तिम स्वीकृति दिन सुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको र श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । 

नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो । 

उनीहरु ओटा टनेल कम्पनीमा ५ हजार रिंगेट तलब पाउने गरी गएका हुन् ।

‘दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो । त्यसलाई श्रमस्वीकृति दिन मन्त्रालयबाट सहमति प्राप्त भयो,’ विभागका महानिर्देशक दिलिप चापागाईले भने, ‘दूतावासले भिसा पाएका नामवलीसहित पत्र पठाएको थियो ।’

गत जेठ २ गते सरकारले मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोको थियो भने गत कात्तिक १२ गते दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भएको थियो ।

दुईदेशबीच श्रम सम्झौता भएपनि श्रमस्वीकृति प्रक्रिया सूचारु भएको थिएन । 

वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकले भिसा प्रक्रियाको लागि भिएलएन नेपाललाई रकम बुझाएको जनाएको छ । श्रमिकले भिसा प्रक्रियाको लागि ७ हजार चार सय रुपैया शुल्क बुझाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?