कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो । उक्त आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुनअनुसार जरिवाना गरिएको सहायक प्रजिअ अनोज घिमिरेले बताए ।
गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री गरेपछि आफूलाई स्थानीयले उजुरी गरेको उनले बताए । उनले भने, “उक्त आयल स्टोर्सका बारेमा सूक्ष्म रुपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टि भएपछि हामीले जरिवाना गरेका हौँ । यो न्यूनतम जरिवाना गरिएको हो ।”
जिल्लामा सदरमुकाम मन्थलीमा रहेका तीनवटा पेट्रोल पम्पमा एक हप्तादेखि पेट्रोलियम पदार्थ नभएपछि सो पेट्रोल पम्पमा बढी मूल्य लिएर गैरकानुनी ढङ्गबाट बिक्री वितरण भएको पाइएको थियो ।
उता लक्ष्मी आयल स्टोर्सका प्रोप्राइटर केशव घिमिरेले आफूले मूल्यमा कुनै पनि तलमाथि नगरेको र सबैलाई आयल निगमले तोकेको एउटै मूल्यमा वितरण गर्ने गरेको दाबी गरे । दुई वर्षअगाडि पनि यो आयल स्टोर्स पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा कारबाहीमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया