सेरेना अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । अमेरिकी सेरेना विलियम्स जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । 

मेलबर्न पार्कमा सोमवार राति सम्पन्न भएको महिला एकलतर्फको प्रि क्वाटरफाइनल खेलमा अमेरिकी सेरेनाले रोमानियाकी सिमोना हालेपलाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम आठको स्थान तय गरेकी हुन् ।

सेरेनाले हालेपलाई खेलको पहिलो सेटमा ६-१ ले, दोस्रो सेटमा ४-६ ले तथा अन्तिम सेटमा ६-४ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरिन् । ३७ वर्षिया सेरेनाले खेलको दुई सेटमा जीत हात पारेकी थिइन् भने एक सेटमा हार बेहोरेकी थिइन् ।

२३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले हालेपलाई पराजित गर्न एक घण्टा ४७ मिनेट समय कोर्टमा खर्चेकी थिइन् । अब सेमिफाइनल प्रवेशको लागि सेरेनाले चेक रिपब्लिककी क्यारोलिना पिल्सकोभाको सामना गर्नेछिन् । 

त्यस्तै सोमवार राति नै भएको अर्को खेलमा सातौं वरियताकी पिल्सकोभाले स्पेनकी गार्बिन मुगुरुजालाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरिन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?