माथिल्लो रावाखोला साना जलविद्युतको काम २० प्रतिशत मात्र बाँकी, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । खोटाङमा निर्माणाधिन माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । 

खोटाङको केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको उक्त साना जलविद्युत् आयोजनाको काम २० प्रतिशत मात्र बाँकी रहेको जनाएको छ । 

यो जलविद्युत् आयोजना गर्न राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लिको ३० प्रतिशत लगानी रहेको छ । यस जलविद्युत् आयोजनाबाट तीन मेगावाट विद्युत्उ त्पादन हुने बताइएको छ । 
रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाका अनुसार सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको जनाएको छ । 

साथै उनल आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको पनि बताए । करीब दुई हजार एक सय मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले एक हजार मिटरभन्दा बढी पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ । 

आयोजनाको विद्युतगृह, हेड, पाइपलाइन, एङ्कर ब्लकलगायत सिभिल कन्स्ट्रक्सनको काम ट्रिपल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, जेनेरेटर, टर्बाइन, ट्रान्सफरमर, प्यानल उपकरण जडानलगायत इलेक्ट्रोनिक मेकानिकलको काम सिमर इनर्जी र इञ्जिनीयरिङको काम युनिट्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएका छन् । 

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको बाक्सिलास्थित सबस्टेशनमा जडान गरिने विद्युत्को अहिले हेडमा सेटलिङको काम तीव्र गतिमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?