काठमाडौँ । उपत्यकामा परेको वर्षाका कारण जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज ‘बुधवार’ हुने पाँच वटा खेल स्थगित गरिएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बुधवार हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ ।
क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र बुधवारको खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । वर्षा रोकिएर घाम लागेमा बिहीवारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उनको भनाइ छ ।
प्रतियोगितामा बुधवार नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो।
प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौँ हुनेले ३० हजार र सातौँ हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६-६ हजार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया