एकदिवसीय क्रिकेट : शुक्रवार नेपाल र युएईबीचको पहिलो खेल

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि ‘शुक्रवार’ खेल्दैछ । 

संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । 

गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । 

यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो । नेपाली टोली कप्तान पारस खड्काले एक दिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको भन्दै जित निकाल्न प्रयास गर्ने बताए । 

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । उक्त खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?